Logo

यस्तो छ राष्ट्रपति भण्डारीको नयाँ वर्षको शुभकामना



काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

नव वर्ष २०७६ का अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्यप्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छिन् । सन्देशमा राष्ट्रपति भण्डारीले भनिन्, “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”

हाम्रो ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस भनी शुभकामना व्यक्त गर्दै उनले प्राकृतिक एवं सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधीन र स्वाभिमान राष्ट्रका रुपमा विश्व मानचित्रमा अङ्कित छ भनिन् ।

विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै उनले भनेकी छिन्, “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ।” सन्देशमा भनिएको छ, “नयाँ वर्ष २०७६ साल मुलुकमा समृद्धि र दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

उपराष्ट्रपति पुनको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

विक्रम् संवत् २०७५ बिदा भई २०७६ भएका अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले भनेका छन्, “देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । विसं २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर बिदा भएको छ । नयाँ वर्ष आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने मैले अपेक्षा लिएको छु ।”

नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपतिले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै जानुपर्नेमा जोड दिएका छन्। नयाँ वर्षले नेपालीकाबीच आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरण बन्नुका साथै समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्ने साझा एजेण्डामा सबैको ध्यान केन्द्रित गर्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्