Logo

राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा



काठमाडौं, १ बैशाख । राष्ट्रिय पोशाक महाअभियानले तत्काल राष्ट्रिय पोशाक कायम गर्न माग गरेको छ । नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउँदै आएको महाभियानले आज राजधानीमा एक कार्यक्रम गरी मुलुकको समृद्धिसँग पहिचान पनि जोडिने भएकाले राष्ट्रिय पोशाक कायम गर्न माग गरेको हो ।

कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा नै अबदेखि राष्ट्रिय पोषाक जोगाउने अभियान पनि सुरु गरिने बताए ।

हप्ताको एक दिन आफूले राष्ट्रिय पोषाक लगाएर कार्यक्रम संचालन गर्नुका साथै अतिथीलाई पनि त्यही पोषाक लगाएर बहस गराउने उनले बताए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट राष्ट्रिय पोषाकसहितको कार्यक्रम सुरु गरिने धमलाले बताए । आगामी वर्ष २०७७ साल वैशाख १ गतेदेखि नै राष्ट्रिय पोषाक दिवस मनाउने वातावरण सृजना गर्नका लागि पनि पहल गर्ने धमलाले बताए ।

त्यसैगरी धमलाले जनप्रतिनिधीले पनि राष्ट्रिय पोषाक पहिरिनुपर्नेमा जोड दिए । पोषाकलाई महत्व नदिएकाले पहिचान नै धरापमा परेको धमलाको भनाई थियो । कार्यक्रममा पहिचान विनाको समृद्धिको कुनै अर्थ नहुने भएकाले दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाक घोषणा गर्न भनेको छ ।

यी पाँचै पोशाक २०६८ सालसम्म राष्ट्रिय पोशाककै रुपमा थिए । तर २०६८ सालमा तत्कालीन सरकारले राष्ट्रिय पोशाक खारेज गरेको थियो । कार्यक्रमका सहभागीहरुले मुलुकको पहिचाहनका लागि राष्ट्रिय पोशाक हुनैपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्