Logo

तेस्रो स्थापना दिवस मनाउँदासम्म अलपत्र राजपा नेपाल, महाधिवेशन कहिले ?



वैशाख ७, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी राजपा नेपालको महाधिवेशन अनिश्चित भएको छ । तोकिएको समयमा महाधिवेशन गर्न नसके पछि पुन अर्को मिति तय गर्ने तयारी छ । तर नेताहरुबीच कुरा मिल्न नसक्दा अन्योल बढेको छ । यसअघि आजदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

महाधिवेशनको तयारीमा राजपाका नेताहरु जुटे पनि तोकिएको समयमा महाधिवेशन हुन सकेन । नेताहरुबीच एकमत भएको भए शनिवार महाधिवेशनको उद्घाटन हुने थियो । २ वर्षअघि आजकै दिन विभिन्न दलहरु मिलेर राजपा गठन गरेका थिए । स्थापना दिवसकै दिन महाधिवेशन गरेर निर्वाचित नेतृत्व पाउने आशामाथि तुषारापात भएको हो । राजपा नेपालको अहिलेसम्म विधान, निर्देशिका, नियमावलीलगायतको टुंगो लाग्न सकेको छैन । महाधिवेशन प्रतिनिधि कसरी छान्ने, नेतृत्वको टुंगो कसरी लगाउँनेलगायतका विषयमा पार्टी अझै अन्योलमै रहेको छ ।

प्रदेश कमिटी, जिल्ला कमिटीदेखि स्थानीय तहसम्मका कमिटीको निर्माणसहित पार्टी अब एकल अध्यक्ष प्रणालीमा जाने कि अध्यक्ष मण्डलकै व्यवस्था गर्ने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन । राजपामा अहिले अध्यक्ष मण्डलको व्यवस्था छ ।

तर, राजनीतिक समितिले एकल अध्यक्ष प्रणालीमा जानुपर्ने सुझाव दिएको छ । तर, राजनीतिक समितिको सुझावविपरीत अध्यक्ष मण्डल हालकै व्यवस्था कायम हुनुपर्नेमा देखिएका छन् । राजपाका नेताहरु भने समयमा तयारी पुग्न नसके पछि महाधिवेशन गर्ने नसकेको बताउँछन् ।

२०७४ वैशाख ७ गते मधेशका विभिन्न छवटा दल मिलेर राजपा नेपाल गठन भएको थियो । महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा नेपाल गठन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्