त्रिलोचन भट्ट, मुख्यमन्त्री प्रदेश ७ : दुई तिहाइको सरकार बनेर कार्यान्वयनको दिशातर्फ बढेसँगै नेपाल समृद्धितर्फ अघि बढिसकेको छ । अबको सरकार विकास निर्माणको अभिभारा नै हो । त्यसका आधार पनि तय भइसकेका छन् । जनताले अबको सरकारसँग आशा र पूरै भरोसा गरे हुन्छ किनकि विकासको रूपरेखा अहिले सुरु भइसकेको छ ।
यो सरकारले देशका मुद्दालाई पनि उठाएको छ । अहिलेको स्थायी सरकारले देशको दीर्घकालीन विकासको लागि योजना र कार्यविधि अघि सारिसकेको छ । त्यसैले परिवर्तनका लागि गरिएका संघर्ष र बलिदानलाई सफल पार्नमा यदि हामी चुक्यौं र काम गर्न सकेनौं भने त्यसबाट प्राप्त उपलब्धि त्यत्तिकै खेर जानेछ ।
अहिलेको सरकारले जनताका पीर मर्कालाई नजिकबाट नियाल्ने प्रयास गरिरहेको छ । सरकारले अबको पाँच वर्षमा देशलाई समृद्धि बनाउँछ । तर, त्यसमा सबैको सकारात्मक साथ सहयोग आवश्यक छ । देश समृद्ध र विकसित बनाउनको लागि सञ्चार माध्यमको भूमिका पनि उच्च रहेको हुन्छ । त्यसैले सञ्चार माध्यमले सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गर्न आवश्यक छ ।