वैशाख १३, काठमाण्डौ । मनमोहन अधिकारी नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए । २०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए ।
नेपालकै इतिहासमा अधिकारी सफल प्रधानमन्त्रीको रुपमा चिनिएका छन् । जनताको हितमा काम गरेको आधारमा अधिकारीपछि सम्झनयोग्य प्रधानमन्त्री अरु नभेटिएको नेपाली राजनीतिमा चर्चा हुने गरेको छ ।
विक्रम सम्वत १९७७ जेठ २८ गते जन्मिनुभएका मनमोहन अधिकारीको विक्रमसम्वत २०५६ वैशाख १३ गते निधन भएको थियो । उनै अधिकारीको आज २० औँ स्मृति दिवस । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए ।
वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा माले सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए । २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका अधिकारीले गरेका कामले नै उहाँलाई अविस्मरणीय बनाएको हो ।
’आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने कार्यक्रम ल्याएर उनले तत्कालीन समयमा हरेक गाविसमा तीन–तीन लाख रुपैयाँ पठाएका थिए । प्रधानमन्त्री हुँदा अधिकारीले गरेको अर्को लोकप्रिय काम हो वृद्धाभक्ता । वृद्धाभक्ताको व्यवस्था सामाजिक सुरक्षाका क्षेत्रमा दक्षिण एसियाकै पहिलो प्रयोग थियो । अहिले पनि यो कार्यक्रम निरन्तर रुपमा अघि बढिरहेको छ ।
९ महिनामा प्रधानमन्त्री भएका अधिकारीले पारदर्शिता, मितव्ययितालाई उच्च महत्व दिएका थिए । आफ्नो व्यक्तिगत खर्चसमेत कटाएर उनले राज्य कोषमा रकम फिर्ता गरेका थिए । अधिकारी नेतृत्वको सरकारलाई इतिहासकै प्रभावकारी मन्त्रीपरिषद्का रुपमा समेत लिने गरिन्छ । त्यही मन्त्रिपरिषदमा स्थानीय विकास तथा आपूर्तिमन्त्री बन्नु भएका सिपी मैनालीले पछिल्लो समय शाषनको नेतृत्व गर्नेहरु अधिकारी जस्तो सफल बन्न नसकेको बताउनुभयो ।
ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्ने इच्छाका कारण अधिकारी नागरिकको हृदयमा बस्न सफल हुनुभएको मैनाली बताउनुहुन्छ । नेता बन्न इमानदार पनि हुनुपर्छ भन्ने अधिकारीको विशेषताले आफू प्रभावित भएको एउटै मन्त्रीपरिषदमा अनुभव साँट्नुभएका मैनाली बताउनुहुन्छ । अहिलेको शाषकवर्गले पनि अधिकारीबाट सिक्नुपर्ने धेरै कुरा छन् ।
काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि. एस्सी. को अध्ययन सकिन लागेका बेला १९४२ मा, मन मोहन भारत छोडो आन्दोलनमा सहभागी भनुभयो । १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये अधिकारी पनि एक हुन् ।