काठमाडौं, १९ बैशाख । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा प्रकरणमा जो जो मुछिए पनि छानविन प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् । उनले व्यक्तिको नाममा ल्याउने जो कोहीलाई सरकारले छुट नदिने बताएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री बाँस्कोटाले भने, ‘बालुवाटार जग्गामा चारतारे, लालतारे कसैलाई सरकारले छुट दिन सक्दैन।’ सरकारी जग्गा अतिक्रमण भएकोबारे सरकारले नै छानविन समिति बनाएको र अध्ययन भइराखेको उनले स्पष्ट पारे ।
उनले भने,‘सरकारी जग्गा लिनेलाई मैले क्षतिपुर्ति दिनुपर्छ भनेको छैन। पूर्वाग्रह साँधियो, कसैको जग्गा छ भने त्यो गयो, सरकारले क्षतिपुर्ति तिर्दैन।’ सरकारले पहिलेदेखि नै जग्गा अतिक्रमणबारे अध्ययन गरिराखेको भए पनि नेकपा जोडिएपछि मात्रै सबैका रौं ठाडा भएको बताए।