Logo

‘प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जाँदै, वैशाखभित्रै तातोपानी नाका सञ्चालनमा आउँछ’



काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध सम्मेलनमा भाग निलको लागि यही बैशाख २६ गते भियतनाम जाने भएका छन् । प्रधानमन्त्री ओलीले मे महिनाको ९ देखि १३ तारेखसम्म(वैशाख २६ देखि ३० गतेसम्म) भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडियाको भ्रमण गर्न लागेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

राष्ट्रपतिको चीन भ्रमणबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजना भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भ्रमणबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी हुनेछन् ।

भियतनामले ३० वर्षयता गरेको तीब्र आर्थिक प्रगति र उक्त देश विश्वभरका लगानीकर्ताको आकर्षणको केन्द्र भएकाले उनीहरुको अनुभवबाट नेपालले सिक्न सक्ने मन्त्री ज्ञवालीले बताए । भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताए ।

त्यस्तै, मन्त्री ज्ञवालीले वैशाखभित्रै तातोपानी नाका सञ्चालनमा आउने बताएका छन्। चार वर्षअघि गएको भूकम्पदेखि बन्द रहेको तातोपानी नाका मर्मत भइराखेकोले यही महिनादेखि खुल्ने ज्ञवालीको भनाइ छ। तर तातोपानी नाकाबाट अब खुद्रा कारोबार नहुने उनले बताएका छन्।

ज्ञवालीले भने,‘चाइनाबाट सामान बोकेका कार्गोहरु अब सिधै सुख्खा बन्दरगाहामा आउँछ। खुद्रा कारोबार हुँदैन होला । तातोपानी नाकाभन्दा केही वरै सुख्खा बन्दरगाहा छ।’

मन्त्री ज्ञवालीले यातायात तथा पारवहन प्रोटोकलमा हस्ताक्षर भई कार्यान्वयनमा आएको पनि बताए। उनले भने, ‘यो कसैका विरुद्ध भने होइन।’ पहिलेका सरकारको प्राथमिकता निर्वाचन गराउनुमा केन्द्रित हुँदा प्रोटोकलमा हस्ताक्षर हुन ढिलाइ भएको उनको भनाइ छ। उनले सामान बोकेका कार्गो चीनबाट १३ दिनमा नेपाल ल्याउन संभव हुने बताए।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्