Logo

नेपालमा पहिलोपटक बर्डफ्लूले लियो एक युवाको ज्यान, महामारीबाट जोगिने कसरी ?



वैशाख १९, काठमाण्डौ । नेपालमै पहिलो पटक बर्डफलुकै कारण एकजनाको ज्यान गएको छ । विगत केही वर्षदेखि वर्ड फ्लूको संक्रमण देखिए पनि मृत्यु नै भएको थिएन । तर अहिले काभ्रेका एक युवकको ज्यान गएपछि सरकारले बर्ड फ्लूको सम्भावित खतराबाट सचेत हुन सुझाब दिएको छ ।

२१ वर्षे एक युवाको बर्डफ्लु भाइरसका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । मन्त्रालयले मृतकको नाम भने खुलाएको छैन । ती युवा गत चैत १० गते रुघाखोकी र ज्वरो आएर अस्पताल भर्ना भएका थिए । भोलिपल्ट चिकित्सकले घाँटीर्को याल परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाएको थियो । उपचारकै क्रममा चैत १५ गते युवकको मृत्यु भएपछि उक्त स्याम्पल पुनः परीक्षणका लागि जापान पठाइएको र भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले जानकारी दिइन् । मृतकको परिवारका सबै सदस्यको नमुना परीक्षणका लागि जापान पठाइएको उनले बताइन् ।

नेपालमा बर्डफ्लु भाइरसबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयले बर्डफ्लूको संक्रमणबाट एक जनाको ज्यान गएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले सो रोगबाट बच्न पशुपंक्षीको मासु राम्रोसँग पकाएर खान तथा रोग लागेका उनीहरुसँग टाढा रहन आग्रह गरेको छ ।

विभिन्न देशमा भेटिएको बर्ड फ्लू भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो । बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ ।

यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि अहिलेसम्म विश्वभरि ८६० जना व्यक्तिमा सो भाइरसको संक्रमण भएकोमा ४५४ जना बिरामीको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्