काठमाडौं, २० बैशाख । भक्तपुरस्थित् सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अस्थायी करारमा कार्यरत नर्सहरुलाई प्रहरीले स्वास्थ्य मन्त्रालयको मूल गेट अघिबाटै पक्राउ गरेको छ । शुक्रबार साँझ आफ्ना मागहरु पूरा गराउनको लागि मन्त्रालयमा धर्ना तथा दबाब दिन पुगेका नर्सहरुलाई प्रहरीले मन्त्रालयको मुख्य द्धारबाटै पक्राउ गरेको नेपाल स्वास्थ्यकर्मी संघ तथा कर्मचारी युनियनकी सचिव रबिता सिटिखुले जानकारी दिईन् ।
अस्पतालमा अस्थायी करारमा कार्यरत नर्सहरु आफूहरुलाई आन्तरिक रुपमै विस्थापित गर्ने उद्देश्यले नयाँ विज्ञापन गरेको भन्दै आन्दोलित छन् । पक्राउ पर्ने नर्सहरुमा त्रजिना जति, प्रविना कार्की, डिक्की शेर्पा, सम्झना डंगोल, रक्षिता मुनाकर्मी, संगिता माकस्या, सजना देउला र सविता श्रेष्ठ छन् ।
अस्पतालमा कार्यरत नर्स त्रजिना जतिले आफूहरुले पटक–पटक माग पूरा गराउनको लागि अस्पतालको ध्यानाकार्षण गराएको र बेला बेलामा दबाबमूलक कार्यक्रमसमेत आयोजना गर्दापनि कुनै सुनुवाई नभएकै कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सुनाईन् ।
उनले लोकसेवा खुलाउनुपर्छ भनेर आफूहरुले नै माग गरेको पनि स्पष्ट पारिन् । अस्पतालले मनोमानी ढंगले कर्मचारीहरुमाथि विभेदको नीति लिएको र ठेकेदारी प्रथा अपनाएर आफ्ना मान्छेको भर्ती केन्द्र बनाएकोपनि उनले विगत सुनाईन् ।
उनले भनिन्,‘अस्पतालमै पाँच वर्ष पूराना स्टाफहरुलाई ग्रेडिङको माध्यमबाट बढुवा गर्नुपर्ने पनि हामीले माग राखेका थियौं । अस्पतालले हामीलाई कहिल्यैपनि समयमै तलव–भक्ता दिएन् । हामीले सरकारी सेवा/सुविधा पनि पाएनौं । हामीमाथि विभेद भएको छ । बिदालगायत तालिमहरुमा समेत हामिलाई सहभागी हुने अवसर प्रदान गरिएन् ।’
आफूहरुले जायज मागहरु उठाएर ५ महिनादेखि संघर्ष गर्दापनि अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेको उनीहरुको आक्रोश छ । फेरि जतिले भनिन्,‘हामील्े विगत ५ महिनादेखि युनियनको माध्यमबाट आफ्नो लडाई लडिरहेका छौं । तर, अहिलेसम्म हाम्रा मागहरुका बारेमा कुनै ठोस सुनुवाई भएन् ।’
आफूहरुले अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेकै कारण विगत दश दिनदेखि आन्दालन गर्नु परेको उनीहरुको स्पष्टोक्ति थियो । उनले भनिन्,‘विगत लामो समयदेखि निश्कर्षविहीन वार्ता भएको हो । अस्पतालले सुरुमा वार्षिकोत्सव कुर्नुहोस भन्यो, हामीले कुर्दासमेत अस्पतालले अन्याय गरेको हो । नयाँ कुरा आएन् ।’
आफूहरुले आन्दोलन सुरु गरेकै रात अस्पतालले ७ सदस्यीय विकास समिति बनाएको र उक्त समितिमा अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नै समितिको सचिव भएको पनि उनीहरुले सुनाए । पदाधिकारीसँग समस्या समाधानको लागि छलफलको माग गरेपनि कुनै ठोस सुनुवाई नभएको उनीहरुको जिकिर छ ।
एक नर्सले भनिन्,‘हामीलाई जहिल्यै झुलाउने काम भयो । वार्ताको लागि हामी मन्त्रालय पुग्दा मन्त्रालयले पुकार बद्मास भनेको थियो । यता पुकार श्रेष्ठले मन्त्रालयलाई दोष देखाउनुभयो । दुवै पक्ष बसेर समाधान खोजेको भए आज समाधान निस्किसक्दथ्यो । तर, त्यो प्रयास भएन् ।’
नर्सहरुले अघि सारेका मुख्य मागहरुमा अस्पताल समितिको स्थायी पदमा लोकसेवा खुलाउँदा सबै जनशत्तिको खुलाउनुपर्ने र स्थापना कालदेखि कार्यरत नर्स तथा कर्मचारीहरुलाई प्राथमिकता दिईनुपर्ने, विज्ञापनमा भएका सबै त्रुटिहरु सुधार गरि लोकसेवाको नियमअनुसार नै व्यवस्थापन गरि पुनः विज्ञापन गर्नुपर्नेलगायत छन् ।