महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्रमन्त्री : अहिले अपनाइएको राजनीतिक पद्धति नयाँ हो । नयाँ भएकाले सोहीअनुसार नयाँ ऐन, कानुनहरू बन्नुप¥यो । सरकार पनि हिजो अस्तिको जस्तो एउटा सरकार आउने र अर्को जाने भन्ने खालको होइन । नयाँ पद्धतिअनुसारको सरकार हो । त्यसैले अहिले तीन तहमा सरकार छन् ।
तीन तहका सरकारका आ–आफ्नो जिम्मेवारी पनि छन् । र, उनीहरूको सामूहिक जिम्मेवारी पनि छ । त्यसलाई व्यवस्थित गर्नको लागि ऐन तथा कानुनको व्यवस्था गर्नुपर्ने अब अहिले यो एक वर्षमा त्यो खालका कानुनहरू निर्माण हुने कामहरू भइरहेका छन् । अझै कतिपय कानुनहरू निर्माणकै प्रक्रियामा छन् । कानुनहरू पहिले व्यवस्थित गर्नुपर्छ । त्यसपछि हरेक तहको सरकारले गर्ने कामहरूको प्राथमिकता निर्धारण गर्नुपर्छ । विकासको लागि पहिले पूर्वाधारमा जानुप¥यो ।
पूर्वाधार भन्नेबित्तिकै ऊर्जा, सडक–सञ्जाल, प्रविधिदेखि लिएर अन्य धेरै कुराहरू पर्छन् । ती सबैको विकास गर्नुपर्छ । पर्यटनलगायत अन्य क्षेत्रमा पनि सरकारले विशेष ध्यान दिनुपर्छ । यी क्षेत्रमा सरकारले विशेष प्राथमिकता तोकेर काम अघि बढाउनुपर्छ । यो सरकार अहिले दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो वर्ष आधार वर्षको रूपमा रह्यो । पूर्वाधार तथा भौतिक संरचनामा सरकारले ध्यान दिएको छ ।
सरकारले अब विशेष प्राथमिकता निर्धारण गरेर नै हात हाल्नुपर्छ । उद्योगमा हामी कुन क्षेत्रमा हात हाल्छौं, पूर्वाधारमा हामी कुनकुन ठाउँसम्म कसरी जान्छौं ? यो तोकेर त्यसमा लाग्नुपर्छ । सामाजिक क्षेत्रको परिवर्तनमा पनि शिक्षामा अब पहिलेकै नीति र पुरानै पाठ्यक्रम, पहिलेकै खालको स्वरूपमा शैक्षिक संस्थाहरू राखेर समृद्धि आउँदैन् । कलेज, विश्वविद्यालयको शिक्षालाई परिवर्तन गरेर विश्वस्तरको विश्वविद्यालय कसरी निर्माण गर्ने ? विश्वस्तरीय शिक्षा कसरी प्रदान गर्ने ? यसमा हामीले अब सैद्धान्तिक शिक्षामात्रै होइन, व्यावहारिक शिक्षामा पनि जोड दिनुपर्छ । व्यावहारिक शिक्षा र ज्ञानलाई अब बढावा दिनुपर्छ ।
प्राविधिक तथा लिवरल साइन्स दुवै क्षेत्रमा पनि यो हुन सक्छ । त्यसलाई पनि हामीले त्यहीअनुसार लैजानुपर्छ । अहिले भएका विश्वविद्यालयका शिक्षा नीतिलाई विकास र उत्पादनसँग जोड्नुपर्छ । स्वास्थ्य अर्को महत्वपूर्ण पाटो हो । हरेक गाउँपालिकामा १५ सय शैय्यासम्मको अस्पताल बनाउने भनिएको छ । अब त्यो नारामात्रै दिएर हुँदैन । धमाधम काम गर्नुपर्छ । स्वास्थ्यमा जनताको राम्रो पहुँच पु¥याउनुपर्छ । अर्को महत्वपूर्ण भनेको पर्यटनको पूर्वाधारको विकास गर्नुपर्छ । अहिले नेपालमा कस्तो छ भने हामी २० लाख विदेशी पर्यटक ल्याउने भन्छौं तर एकैपटक १० हजार पर्यटक आए भने एकोमोडेसन छैन । त्यसकारण उनीहरूको खाने, बस्नेदेखि सबै सुविधाको लागि पूर्वाधारको विकास गर्नुपर्छ ।
पर्यटनको विकासको लागि अब पर्यटकहरू लैजाने केन्द्रहरू पनि तोक्नुपर्छ । त्यो ठाउँहरूलाई पनि रिनोभेट र निर्माण गर्नुपर्छ । उनीहरू त्यो ठाउँमा आइसकेपछि कमसेकम ५/७ दिन बसुन् भन्ने हो । त्यो ढंगले हामीले विकास गर्नुपर्छ । यसरी हामी गयौं भने समृद्धिको बाटोमा जान सक्छौं । मुलुकको समृद्धिको लागि हामीले अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूसँग पनि सुमधुर सम्बन्ध राख्नुपर्छ । छिमेकहरूसँग त झनै सुदृढ सम्बन्ध बनाउनुपर्छ । छिमेकलाई मात्रै खुसी पारेर आजको विश्व राजनीति चल्दैन ।
विश्व राजनीतिमा जाँदाखेरि आज हामीले १६५ मुलुकसँग दौत्य सम्बन्ध जोडेका छौं । ती सबै मुलुकको मन जित्ने गरी हाम्रो अन्तर्राष्ट्रिय क्षेत्रमा हामीले आफ्नो वर्चस्व देखाउनुपर्छ । कतिपय अन्तर्राष्ट्रिय घटनाहरूमा ‘इम्पार्सियल’ भएर हामीले आफ्नो दृष्टिकोण राख्न सक्नुपर्छ । हामी ‘नन् एलाइनमेन्ट मुभमेन्ट’ को संस्थापक सदस्य पनि हौं । त्यसैले हाम्रो एप्रोच ‘नन्–एलाइनमेन्ट’ नै हुन्छ । तर, असंलग्न भनेको आँखा चिम्लिएर होइन् । कतैतिर एलाइन नभइकन न्याय र इन्साफको बाटोमा प्रष्टसँग उभिनुपर्छ । त्यो रूपमा हाम्रो परराष्ट्र नीति सबैसँग कायम गर्नुपर्छ । ठीकसँग चलाउनुपर्छ ।
राज्यसत्ता आस र त्रासमा आधारित भएर चलाउने होइन । क्षमता र विश्वासमा अडेर हामीले राज्यसत्ता चलाउनुपर्छ । समाजको सबै पक्षमा हाम्रो सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । सरकार अहिले पूर्वाधारको विकासमा पनि लागेको छ । सडक, रेलदेखि हवाई यातायातमा पनि लागेको छ । जलस्रोतमा पनि लागिरहेको छ । सिँचाइमा पनि अलिकति योजना बनाएर लाग्नुपर्छ । ऊर्जामा लागेकै छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि सरकार अगाडि बढ्दैछ । विश्वस्तरीय विश्वविद्यालय बनाउने भनेर रूप रंगहरू पनि आउँदैछन् ।