Logo

एकताको जिम्मेवारी पुरा नभएको प्रचण्ड खुलासा



काठमाडौं,२३ बैशाख । सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल कार्यक्रम संघीय संसदमा चलिरहेको छ । आफ्नो छोटो सम्बोधन मार्फत नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफुहरुको जिम्मेवारी पुरा भैनसकेको जनाउदै एक अर्कासंग लडने समय आई नसकेको बताएका छन । एकता समझदारी मार्फत सम्बिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणमा अगाडी बढन आवश्यक रहेको उनले धारणा ब्यक्त गरेका छन ।

‘हामी निषेधात्मक रुपले लडे हुन्छ भन्ने समय आइसकेको छैन । त्यसकारण एकता र समझदारीमार्फत समृद्ध नेपालको निम्ती अगाडि बढौँ’ प्रचण्डले भने । उनले नीति तथा कार्यक्रमलाई दृढ समर्थन गर्दै सोको पक्षमा मतदान गर्न आग्रह समेत गरे । गत आवको भन्दा अहिलेको नीति कार्यक्रम व्यवस्थित ढङ्गबाट आएको उल्लेख गर्दै उनले भने,“जनताको भावना र चाहनालाई सम्बोधन गर्न अधिकतम् प्रयास गर्ने कोशिस भएको छ । म सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

नीति कार्यक्रम गत सालको भन्दा गुणात्मक रुपले नयाँस्तरमा उठ्न खोजेको महसुस आफूले गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रतिपक्षले पनि गत सालको तुलनामा तयारीका साथ लिखित रुपमा आफ्ना धारणा राखी बहसलाई नयाँ स्तर प्रदान गरेको बताए । सरकार शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न लागिपरेको जानकारी दिँदै उनले सत्ता पक्ष र प्रतिपक्ष शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष दाहालले भने,“संविधानको मर्म र भावनाअनुसार ऐन बनाउने काम अघि बढेको छ, संविधानले नयाँ संरचनाको परिकल्पना गरेको छ । संविधानको परिकल्पनाअनुसार नयाँ संरचना खडा गर्ने काम अघि बढेको छ ।’’ उनले भने, “अहिले सत्ता पक्ष र प्रतिपक्ष तथा सबै राजनीतिक शक्ति सीमाभन्दा बाहिर गएर एकअर्कालाई निषेधात्मक गर्ने छुट हामीलाई छैन् ।”

सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सम्बोधन गर्न प्रयास अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष दाहालले भने,“यदि सरकारले मौलिक हकका रुपमा संविधानमा व्यवस्था गरिएका थुप्रै ऐन गएको असोज ३ गतेभित्र निर्माण गर्न नसकेको भए संवैधानिक विवाद उत्पन्न भई मुलुक अन्योलतर्फ जान सक्थ्यो, सरकार गम्भीर भएर मौलिक हकसम्बन्धी कानून निर्माण गरी अघि बढेको छ । त्यस्तै संरचना निर्माणमा पनि केही सफलता मिलेको छ ।”

अध्यक्ष दाहालले नेपालको वैदेशिक सम्बन्धलाई सन्तुलित र व्यवस्थित गर्न देखिएका चुनौती हल गर्न नयाँ सरकार निर्माण भएपछि छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउने, नेपालको राष्ट्रिय हित अनुकूल, विकास प्रयासअनुसार अघि बढाउने प्रयन्त भएको बताए । उनले भने, “भारतसँग भएको थुप्रै सहमति, सिमाना, हवाई प्रवेश बिन्दु, रेल, हुलाकी मार्ग निर्माणको सहमति दूगरगामी महत्वका छन्, यसले विकासको आधार तय गरेको छ ।“चीनसँग भएका थुप्रै सहमतिले नेपालको विकास प्रयासमा दूरगामी असर पार्ने सकारात्मक र महत्वपूर्ण सफलता भएको छ”, उनले भने ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्