काठमाडौं, २७ बैशाख । नवगठित समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य रामप्रसाद रिजालले तत्कालिन् नयाँ शक्ति, पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले उपेन्द्र यादवको विचारलाई आत्मसात् गरेकै कारण एकता सम्भव भएको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स नेपाल डटकमका लागि कुराकानी गर्दै रिजालले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् । उनले नवगठित पार्टीको मुख्य सिद्धान्त संघीयता, सुशासन, समृद्धि र समाजवाद रहेको बताए । उनकाअनुसार अबको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुन्छ ।
उनले भने,‘कांग्रेस यथास्थितिवादी शक्ति हो । यसका कारण देश दरिद्रतामा फस्यो । झण्डै दुई तिहाई बहुमत पाएको नेकपा कमाउनिष्ट भैसक्यो । हुँदाहुँदै अब त बालुवाटार, टुँडिखेल किनेर निजी बनाउने काममा लागेका छन् ।’
आफु्नो पार्टीले संघीयता पूर्ण रुपमा कार्यान्वय गर्नुपर्ने पनि अडान लिएको उनले सुनाए । मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म विकास र समृद्धि नहुने भएकोले आफ्नो पार्टीले अब यो एजेण्डा जनताकाबीचमा लिएर जानेपनि रिजालले खुलासा गरे । त्यस्तै, अहिलेको ७ प्रदेशको संघीय संरचनाले मुलुकको विकास नहुने र विभिन्न जातिहरुको पहिचान स्थापित नगर्ने भएकोले आफूहरुले ११ प्रदेशको माग पनि जोडदार रुपमा उठाउने उनको जिकिर छ ।