Logo

प्रेस बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ : ऋषि धमला



काठमाडौं, २८ बैशाख ।  रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रेसलाई कुण्ठित पार्ने काम कुनैपनि हालतमा स्विकार्य नहुने जिकिर गरे । उनले भने,‘हामीलाई कुण्ठित पार्ने कुनैपनि धारा र ऐनहरु स्विकार्य हुँदैन् ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै धमलाले आफूहरु कानूनी राज्यको पक्षमा रहेको सुनाउँदै प्रेसविरोधी गतिविधि मान्य नहुने चेतावनी दिए ।

उनले नेपाली प्रेस जगत जहिल्यैपनि लोकतन्त्रको पक्षमा, विधिको शासनको पक्षमा र स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको सुनाए । उनले भने,‘हामी लोकतन्त्रको पक्षमा छौं । प्रेस स्वतन्त्रताको लागि कसैसँगपनि सम्झौता गर्दैनौं ।’ लोकतन्त्रको मूल्य र मान्यताअनुरुप विद्येयक आउनुपर्ने धमलाको भनाई छ ।

आफुहरुले कहिल्यैपनि आग्रह वा पूर्वाग्रह राखेर पत्रकारिता नगरेको पनि उनले स्पष्ट पारे । प्रेस बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुने धमलाको विश्वास छ ।

पत्रकार महासंघले आन्दोलन घोषणा गर्नु गलत : अध्यक्ष दाहाल

त्यस्तै, नेपाल प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघले हतारमा आन्दोलन गर्न नहुने सुझाव दिए । उनले भने,‘गोकुल बास्कोटा रिपोर्टर हुँदै मन्त्री हुनुभएको हो । त्यसैले प्रेसकै घाँटी निमोठ्नेगरि विद्येयक ल्याउन लाग्नुभएको हो भन्नेमा मलाई विश्वास छैन् ।’ दाहालले नेपाली पत्रकारिताको अभ्यास ठीक छ त ? भनेर प्रश्न समेत गरे ।

पत्रकार महासंघले आन्दोलन घोषणा गर्नु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘पत्रकाहरु पनि स्वनियममा बस्नुपर्छ । संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको सुनिश्चिता गरिसकेको छ ।’ सरकारले प्रेस जगतलाई सुधार गर्नेगरि काम गरिरहेको पनि उनले जनाए । सरकारले श्रमजिविहरुको पक्षमा कोशिस गरिरहेकोपनि उनले सुनाए ।

विद्येयक तत्काल खारेज गर्नुपर्छ, महासंघको आन्दोलनमा ऐक्यबद्धता छ : अध्यक्ष डुम्रे

जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले प्रेस काउन्सिल विद्येयक प्रेसमैत्री नभएको भन्दै पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा आफ्नो संगठनको पूर्ण ऐक्यबद्धता रहेको सुनाए । आफूहरु जनताको न्यायपूर्ण आन्दोलनमा विगतदेखि नै सहभागी हुँदै आएको सुनाउँदै अध्यक्ष डुम्रेले सरकारले ल्याउन लागेको विद्येयकले प्रेसको घाँटी निमोठ्ने काम गरेको सुनाए ।

पछिल्लो समय पत्रकारहरुमाथि राज्यद्रोहको मुद्दा लगाईएको, स्टेशनबाटै पत्रकारहरु पक्राउ गरिएकोले अहिलेपनि पञ्चायतकालिन झल्को दिईरहेको पनि उनको भनाई छ । उनले विद्येयक तत्काल खारेज गर्नुपर्ने सुझाए । आफूहरुले निर्भिक रुपमा पत्रकारिता गर्न पाउनुपर्ने उनको भनाई छ । अहिले पत्रकारहरु लुक्दै हिँड्नुपरेको अवस्था रहेकोले यसको चाँडै अन्त्य गर्नुपर्ने सुझाए ।



प्रतिक्रिया दिनुहोस्