काठमाडौं, २८ बैशाख । नेपाल महिला जागृति जेष्ठ नागरिक (वृद्धाआश्रम) सेवा सदनले स्थानीय सरकार र पूर्व नगर प्रमुखबाट संस्था सञ्चालनमा व्यापक अवरोध सिर्जना भएको भन्दै आपत्ति जनाएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो विलौना गरेको हो । जेष्ठ नागरिकहरुको सेवामा समर्पित संस्थालाई काम गर्न नै नदिने नियतले आफूहरुलाई दुःख दिईएको भन्दै न्याय दिलाउन सरकारसमक्ष संस्थाले माग गरेको हो ।
संस्थाकी अध्यक्ष दुर्गा पौडेलले संस्थाको आफ्नै भवन बनाएर जेष्ठ नागरिकहरुको सेवा गर्ने आफूहरुको पवित्र उद्देश्य रहेको सुनाउँदै भनिन्,‘हामीले प्राकृति उपचार थेरापीमार्फत जेष्ठ नागरिकहरुको सेवा गर्ने उद्देश्य राखेका छौं । तर, हामीलाई काम गर्न नै नदिनेगरि अवरोध भएको छ । यसमा हाम्रो गहिरो दुःख छ ।’
अध्यक्ष पौडेलले पवित्र र स्वच्छ भावनाले स्थापना गरिएको संस्थालाई उद्देश्यानुसार काम गर्न नदिएकोमा गम्भिर आपत्ति जनाईन् । उनले भनिन्,‘टोखा नगरपालिका र खासगरि यसको नेतृत्वकर्ता नगरप्रमुखले हामीमाथि पूर्वाग्रही राख्नुभयो । उहाँले हामीलाई काम नै गर्न नदिनेगरि अवरोध गरिरहनुभएको छ । संस्थाको भवन बनिसक्दापनि अहिलेसम्म पाउनुपर्ने विद्युतलगायतका अत्यावश्यक सुविधा पाएका छैनौं । थेरापी सामाग्रीहरु जुटाईएको अवस्था छ, तर सेवा दिने अवस्था अहिलेसम्म सिर्जना भएको छैन् ।’
त्यस्तै, उनले आफूहरुले धेरै दुःख गरेर संस्थाको स्थापना गरेको पनि सुनाईन् । उनले भनिन्,‘हामीले सय सय रुपैयाँ उठाएर, देउसी–भैलो खेलेर यो संस्था स्थापना गरेका हौं । त्यतिमात्रै होईन, हामीले महिलालाई सीपमूलक तालिमहरुसमेत प्रदान गर्दै आएका छौं । तर, आवरणमा समाजसेवा भन्नेहरुले गरिखाने नाममा हामीलाई अवरोध सिर्जना गरेका छन् ।’
पौडेलले आफूहरुलाई जग्गा दिन्छु भनेर पनि तत्कालिन् धापासी गाविस सचिव ऋषिराम अर्यालले झुक्याएको पनि सुनाईन् । उनले भनिन्,‘तत्कालिन् गाविस सचिव अर्यालले ५ वर्षसम्म पनि हामीले दुःख गरेर संकलन गरेको रकम थन्काईदिनुभयो । जग्गा दिन्छु भनेर झुक्याउनुभयो, तर दिनुभएन् ।’
आफूहरुलाई दुःख दिने नाममा धेरै पटक प्रहरी प्रशासनमा धाउन बाध्य बनाईएको पनि उनले विगतको दुःख सुनाईन् । ‘हामीले उठाएको पैसा तत्कालिन गाविस सचिवले अन्यत्र पठाउने प्रपञ्च गर्नुभएको थियो, तर हामीले आफ्नो पैसा फिर्ता ल्याउन सफल भया’ैं–उनले थपिन् । अर्यालले विगत लामो समयदेखि नै आफूहरुलाई दुःख दिईरहेको सुनाउँदै सरकारले यसबारेमा छानबिन गरेर कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेसमेत पौडेलले माग गरिन् ।
कार्यक्रममा बोल्दै संस्थाकी सल्लाहकार एवम् नमूना नारी शक्ति, नेपालकी अध्यक्ष शान्ता पराजुलीले पवित्र उद्देश्यले खोलिएको र सञ्चालनमा आएको संस्थालाई बिना अवरोध चल्न दिनुपर्ने माग गरिन् । स्थानीय प्रशासनले पनि संस्थालाई सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
पराजुलीले संस्थालाई लिएर स्थानीय तहमै राजनीतिकरण गरिनु दुःखदायी अवस्था भएको पनि टिप्पणी गरिन् ।
गत बैशाख २३ गते संस्थाद्धारा सञ्चालित प्राकृतिक उपचार थेरापीको संस्थाकै प्रधान कार्यालयमा उद्धघाट्न गरिएको पनि पौडेलले जानकारी गराईन् । उक्त थेरापी उपचारको उद्धघाट्न भने पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले गरेकी थिईन् । कार्कीले संस्थाले सुरु गरेको यो उपचार पद्धती फलदायी हुने र जेष्ठ नागरिकहरुको लागि पनि खुशीको कुरा भएको विश्वास दिलाउँदै आगामी दिनमा अझै राम्रो गर्दै सेवा विस्तारको लागि शुभकामना दिएकी थिईन् ।