काठमाडौं २९ बैशाख । ८१ वर्ष भइसकेछ वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवीको दाम्पत्य। जिन्दगीको सहयात्रा थाल्दा सत्यमोहन १९ वर्षका थिए र राधा १४ वर्षकी। उमेरले शताब्दी टेक्दासम्म झगडा नहुनु सम्भव सुनिँदैन। तर, सत्य–राधाको वैवाहिक जीवन उदाहरणीय छ। उनीहरूले न कहिल्यै झगडा गरे न त सत्यमोहनले श्रीमतीसँग रिस देखाए।
राधा हिजोआज अलिक अस्वस्थ छिन्। खुट्टामा नसाको समस्या छ। यताउता हिँड्न साथी चाहिन्छ। घाम छिपिँदै गएपछि आँखाले काम गर्दैन। तर, सत्यमोहन ठमठम हिँडेर कार्यक्रममा जान्छन्। अनेकौं प्रश्नका उत्तर दिन भ्याउँछन्। सामान्य खानपिन गर्छन्। अध्ययन गर्छन्। तर, राधा पुरानो घरको छिंडीमुनि पल्टिएर श्रीमान्को दैनिकी नियाल्छिन्। जहाँ सयौं मानिस आउजाउ गर्छन्, जुन कुरा उनलाई नौलो लाग्दैन।
‘साहित्य भन्थे, सधैं पढाइ–लेखाइ मात्रै गरे’, राधा भन्छिन्, ‘घरमा खासै समय दिएनन्।’ सत्यमोहनले तीनपटक मदन पुरस्कारसहित गोर्खा दक्षिण बाहु पोल्टामा पार्न सके। थुप्रै संघसंस्थाले सम्मान गरे। त्यही भएर श्रीमान्को व्यस्ततामा आफूले गुनासो नगरेको उनी सुनाउँछिन्।
त्यति बेला अहिलेजस्तो मायाप्रेमको कुरो हुँदैनथ्यो। राधाले सत्यमोहनलाई पहिलो पटक बिहेका दिन मात्र देखिन्। अनुहार उज्यालो पार्दै उनले भनिन्, ‘मलाई माग्न सासू आउनुभएको थियो। चिना देखाउँदा मिल्यो।’ मगनी भएको एक महिनामा सुपारी ल्याएपछि विवाह पक्का भएको थियो। सुन दिने चलन थिएन तर एक–डेढ तोलाको तिलहरी लिएर सत्यमोहन आएका थिए।
>>> यो पनि पढ्नुस्ः सत्यमोहनको सय वर्षे चटारो
१४ वर्षमा विवाह गरेकी राधालाई गुफा राखिएको थिएन (पहिलो पटक महिनावारी हुनेबित्तिकै गुफा राखिन्छ)। गुफा नराखी श्रीमान्– श्रीमती बोल्न हुँदैन भन्ने थियो। नबोले पनि प्रत्येक दिन उनी श्रीमान्का गोडा ढोग्थिन्। खाना पकाएर राखिदिन्थिन्। सत्यमोहन नबोली खाएर हिँड्थे। दिन बिराएर खसीको मासु चाहिन्थ्यो। तर, भान्सामा कहिल्यै सघाएनन्। विवाहपछि जोशी जागिरे भएका थिए।
राधा १९ वर्षको उमेरमा आमा बनिन्। बच्चा भएपछि घरपरिवार हेर्न थालिन्। चार छोरी र चार छोरा जन्मिए तर दुई बच्चा बिते। सत्यमोहनले साहित्य, संस्कृति र अध्ययनमा आफ्नो गति अघि बढाइरहे। श्रीमान् सधैं व्यस्त भएको देखेर कहिलेकाहीं उनलाई दिक्क लाग्थ्यो। यही विषयमा आक्कलझुक्कल ठाक्कठुक्क पथ्र्यो तर झगडा होइन। ‘उनी कहिल्यै रिसाएनन्, कुटपिट गरेनन्’, उनी भन्छिन्, ‘म पनि चुप लागिदिन्थें। किचकिच गर्न मन लागेन।’ श्रीमान्को प्रगतिमा उनको साथ अतुलनीय छ।
सत्यमोहन श्रीमतीसँग घुम्न गएनन्। उपहार पनि ल्याइदिएनन्। परिवारका सबै सदस्यलाई चाडपर्वमा उपहार दिनुपथ्र्यो। तर, श्रीमतीका लागि विशेष उपहार कहिल्यै आएन। ‘दरिलो सम्बन्धमा एकअर्कालाई बुझ्नु भनेको उपहार दिनु मात्रै होइन’, उनी भन्छिन्, ‘रिसराग हुनुभएन।’
यो दम्पतीको ८० वर्षभन्दा लामो वैवाहिक अनुभवले परिवार र सम्बन्ध बलियो बनाउन समझदारी हुनै पर्छ भन्छ। एकले अर्कोलाई साथ नदिए वैवाहिक जीवन सुखी हुँदैन। ‘म ऊजस्तै ज्ञानी भएकाले यहाँसम्म आयौं’, उनी भन्छिन्। अन्नपूर्णपोष्टबाट