सांसद खड्काद्वारा उद्घाट्न
काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता पूर्वमन्त्री डा. नारायण खड्काले उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसकोे उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन समारोहमा नेपालस्थित् भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा सहभागी रहेको दुतावासले जनाएको छ । सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ यस क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । उक्त क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ ।
भारत सरकारको नेरु. ३ करोड २ लाख अनुदान सहयोगमा निर्मित दुई तल्ले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।
यस नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्नेमात्र नभइ उदयपुर र यस जिल्लासँग जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरीलगायतका जिल्लाका ग्रामिण भेगका विद्यार्थीको शिक्षामा पहुँच समेत बढाएको छ ।