Logo

कांग्रेसका को-को नेता कारवाहीमा पर्दैछन् ?



भीष्मराज आङ्गदाम्बे, नेपाली कांग्रेस-अनुशासन समितिका संयोजक
आङ्गदाम्बेसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको लागि गरेको कुराकानीको सम्पादित अंश :
तपाईको पार्टीभित्र शीर्ष नेताहरुले चुनावमा मलाई अन्तरघात भयो भनेर उजुरीहरु दर्ता गराएका छन्, के अब अन्तर्घात गर्नेहरुलाई कारवाही हुन्छ ?

अनुशासनको कारबाही गर्न र पार्टीलाई अनुशासनमा राख्नको लागि नै हामीले अनुशासन समिति गठन गरेको हो । र, योभन्दा अगाडि तीनै तहको निर्वाचनमा पार्टीको परीणाम पछाडि साथीहरुले यो भन्दा अघिको समिति र अहिलेको अनुशासन समितिमा उजुरी गर्नुभएको थियो ।

उजुरी त १२ सय वटा आएका छन्, के अब सबैलाई कारवाही हुन्छ त?

योभन्दा अगाडि नै ९ सयभन्दा बढि उजुरी परेका थिए । र, पछि हामीले नयाँ उजुरीको लागि आह्वान गर्दा अहिले साँढे दुई सयभन्दा बढि थप भएका छन् । यसो हुँदा अहिलेसम्म १२ सयभन्दा बढि नै उजुरी परेका छन् । अहिले हामीले उजुरीका सम्बन्धमा छानबिन गरिरहेका छौं ।
पार्टी सभापति शेरबहादुर देउवाले पनि अनुशासन विपरित काम गरेको भनेर उजुरी परेको छ, तपाई सभापतिलाई कारबाही गर्न सक्नुहुन्छ त?
चुनावपछिको सन्दर्भमा हामीले धैरै उजुरी पाएका छौं । नेता तथा कार्यकर्ताले उजुरी दिन पाउनुहुन्छ । तर, निवदेनको औचित्य भने पुष्टि हुनुपर्छ । हामी अहिले केश स्टडी गरिरहेका छौं । कतिपयलाई कारवाहीको सिफारिश भएको छ । कतिपयले उजुरीको लागि उजुरी मात्रै परेको हो । कसैलाई कारवाही हुँदैन भनेर पनि भनेको सुनियो । तर, पार्टीले हामीलाई जिम्मेवारी दिएको छ । हामी कुशलतापूर्वक यो जिम्मेवारी पूरा गर्छौं । समितिका हामी पाँचै जना सदस्यहरु एक ठाउँमा बसेर केश स्टडी गरिरहेका छौं ।

तनहुँको हकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीले एक अर्काविरुद्ध अन्तर्घात भयो भनेर उजुरी दिएका छन्, अब कसलाई कारबाही गर्नुहुन्छ ?

अहिले हामीले यो केश अध्ययन गरिरहेका छौं । समितिमा १२ सयवटा उजुरीहरु परेका छन् । हामी केलाउने काम गरिरहेका छौं । उजुरी अध्ययन गरेर टुँगोमा पुग्नको लागि केही समय लाग्छ । गलत उजुरी दिनेहरुलाई पनि कारबाहीको दायराभित्र ल्याउँछौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँमाथि पनि उजुरी परेको छ, उहाँमाथि पनि छानबिन हुन्छ त ?

हिजोको मितिसम्म त यस्तो उजुरीहरु परेका छन्, की साथीहरुले जग्गाको विवादसमेत मिलाईदिनुपर्यो भनेर आउनुभएको छ । समितिमा विभिन्न खाले उजुरीहरु परेका छन् । तीन तहका निर्वाचनसम्बन्धी उजुरीहरु र अन्य पनि छन् । हामी उजुरीका प्रकृति हेरेर अघि बढ्छौं । पार्टीलाई अनुशासित राख्नको लागि हाम्रो भूमिका सक्रिय हुन्छ ।

उसो भए तपाई प्रमाण पुगेका दोषीहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? तपाईसँग त्यो हिम्मत छ ?

अनुशासनको दायराभित्र परेका जो कोही नेता तथा कार्यकर्ताहरुलाई हामी कारबाही गर्छौं । समितिलाई पार्टीले दिएको टिओआर अनुसारनै हामी यो पार्टीलाई व्यवस्थित् र मर्यादित बनाउँछौं । पार्टीभित्र गलत गर्नेहरुलाई हामी कहीँ न कहीँ अनुशासनको दायरामा ल्याएर छोड्छौं भन्ने विषयमा समितिका सदस्यहरुबीच एकरुपता छ ।

पार्टीमा गलत गर्नेहरुलाई अबको एक वर्षभित्र कारवाही गर्न सक्नुहुन्छ त ?

सबैलाई कारवाहीभन्दापनि प्रमाण र सत्य, तथ्यका आधारमा कारवाही हुन्छ ।



प्रतिक्रिया दिनुहोस्