जेठ १२, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको पार्टी एकताको बहसले बर्षभरी नै चर्चा पायो । केही दिन अघि मात्रै पार्टीका विभिन्न जनवर्गीय संगठनहरुको नेतृत्वको टुङ्गो लगाएको नेकपा भित्र अहिले पोलिटव्युरो गठनमा भने पार्टीका शिर्ष नेताहरुले नै आलटाल गरेका छन । पछिल्लो पटक यसै विषयलाई टुङ्गो लगाउन पार्टीका दुई अध्यक्षसहित शिर्षनेताहरु जुटेपनि आ–आफ्नो स्वार्थका व्यत्तिहरुविच भागबन्डा नमिलेपछि पोलिटव्युरो गठनबाट पछि हटेका छन ।
पार्टीभित्र पोलिटव्युरो गठनमा आफ्ना पक्षधरका नेताहरुलाई समेट्दा अन्य नेताहरुले बढी छुट्ने र असन्तुष्टि बढ्ने देखिएपछि पार्टीका दुई अध्यक्ष नै पोलिटव्युरो गठनबाट पछि हटेका हुन । पछिल्लो पटक गत बुधबार मात्रै दुइअध्यक्ष यसैविषयालाई लिएर लामो छलफल भएपनि कुनै निष्र्कष निस्कन सकेन ।
अध्यक्ष ओली र दाहाल पक्षका केही नेताहरु पनि अहिले भएको स्थायी कमिटी तथा सचिवालयको समेत भनेअनुसार बैठक बस्न नसकेको भन्दै पोलिटव्युरो गठनले पार्टीलाई थप भार थप्ने तथा पार्टीभित्र अन्योलता थप्ने भन्दै नबनाएपनि कुनै फरक नपर्ने पक्षमा उभिएका छन । जेठ ३ गते नै १४७ सदस्यीय पोलिटव्यूरो घोषणा गर्ने तयारी गरेपनि अन्तत अर्का अध्यक्ष दाहालले अघिल्लो दिन बसेको सचिवालय बैठकमा पूर्वमाओवादीबाट दिनुपर्ने ६६ जनाको लिष्ट तत्काल बुझाउन नसक्ने बताएपछि तत्काल पोलिटव्युरो गठन नहुने देखिएको हो ।
त्यसो उता अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि पोलिटब्यूरोको एजेण्डा पन्छाउन सजिलो भएको नेकपाका नेताहरुको तर्क छ । दुइअध्यक्ष नै पोलिटव्युरो गठनमा अनिच्छा देखाएपछि अन्य नेताहरुपनि चुपलागेका छन । तर पार्टीमा माधवकुमार नेपाल पक्षधरका नेताहरु भने तत्काल पोलिटव्युरो गठन गरेर केन्द्रिय नेताहरुको कार्यविभाजन समेत हुनुपर्नेमा छन ।
पूर्वमाओवादीमा पोलिटव्यूरो सदस्य चयनमा अध्यक्ष दाहाललाई निकै सकस परेको छ । अध्यक्ष प्रचण्डका लागि ६६ जना सदस्यको नाम तय गर्नुपर्ने छ । उता रामवहादुर थापाले पछिल्लो समयमा पूर्व माओवादीको कोटामा ३० प्रतिशत बढी हिस्सा दावी गर्न थालेपछि प्रचण्ड थप अप्ठेरोमा परेको बताइको छ ।
पूर्वएमालेमा साबिक ५९ जना बाहेक २३ जना नयाँ सदस्य थप्नुपर्ने छ । नेकपा हाल ४४१ सदस्यीय केन्द्रीय कमिटी, ४३ सदस्यीय स्थायी कमिटी,९ सदस्यीय केन्द्रिय सचिवालय छन । ३–३ महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने नियम भएपनि पछिल्लो ५ महिना यता बैठक बस्न सकेको छैन ।