Logo

सरकारी उद्योगको कपडा कर्मचारीले अनिवार्य खरीद गर्नुपर्ने : मन्त्री यादव



विराटनगर, १३ जेठ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटाँैडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले उद्योग भाडामा सञ्चालन गर्ने र नेपाली सेना, प्रहरीले आवश्यकताअनुसारको उत्पादन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री यादवले उच्च अदालतको न्यायाधीशको नेतृत्वमा गठन गरिएको आयोगको प्रतिवेदनपछि सरकारद्वारा सञ्चालित रुग्ण उद्योगहरू गोरखामा रहेको रबर उद्योग, वीरगञ्ज चिनी कारखाना, बुटवलको धागो उद्योग व्यवस्थितरूपमा सञ्चालनका गर्ने जानकारी दिनुभयो । उहाँले विगत पाँच वर्षको अवधिमा सरकारले बन्द रहेको गोरखकाली रबर उद्योगका कर्मचारीलाई रु एक अर्ब १० करोड भुक्तान गरेको जानकारी दिनुभयो ।

मन्त्री यावदले विगतको सरकारले निजी क्षेत्रलाई सरकारका उद्योग कौडीको मूल्यमा बिक्री गरेको आरोप लगाउँदै आगामी दिनमा सरकारले निजी साझेदारीको अवधारणाअनुसार सरकारी उद्योग सञ्चालन गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले विराटनगर जुट मिल एउटा परिवर्तनको प्रतीकको रूपमा रहेको चर्चा गर्दै यसलाई सञ्चालन गरी जिउँदो सङ्ग्रहालयको स्थापना गर्ने वर्तमान सरकारको सोच रहेको छ भन्नुभयो ।

मन्त्री यादवले चिनी उद्योगी बच्नुपर्ने, उपभोक्ताले शुपथ मूल्यमा वस्तु पाउनुपर्ने र किसानले समयमा रकम भुक्तानी पाउनुपर्ने अवधारणाको सोचअनुसार सरकारले कार्य गरिहेको र यो समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्