Logo

मोदीले नेपाल नीतिलाई निरन्तरता दिन्छन्, सम्बन्ध अझै मजबुद हुन्छ : पूर्व राजदुत डा. सिंह



काठमाडौं, १४ जेठ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुद बनाएर अघि बढाउनेछन् ।’  भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ । उनले भने,‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ । बास्तवमा भन्ने हो भने उहाँ प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ रुपमा महत्व दिएको छ ।’

सिंहले मोदी प्रधानमन्त्री बन्नुपुर्व नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रले चलाएको भएपनि मोदी आएपछि धेरै राम्रो भएको सुनाए । उनले भने,‘पहिले हामी भारतसामू निरीह थियौं, मोदी आएपछि धेरै सुमधुर सम्बन्ध भएको छ । अहिले सम्बन्ध राम्रो छ ।’ उनले विगतमा दुई देशबीच भएका सम्झौताहरुलाई हल्काफुल्का रुपमा लिईने गरेका भएपनि अहिले ती सम्झौताहरुप्रति नेपालले आफ्नो चासो देखाउन थालेको र भारतलेपनि चिन्ता लिएको जिकिर गरे ।

नेपालले भारतबाट लाभ लिनेगरि आफूलाई प्रस्तुत गर्नुपर्नेमा पनि उनको जोड छ । उनले भने,‘भारतसँगका सबैखाले अवसरहरु लिनको लागि हामीले सदुपयोग गर्नुपर्छ । हामी चुक्नुहुँदैन् ।’ उनले नेपाल–भारत परराष्ट्र नीतिमा अब आन्तरिक राजनीति खेलौना बन्न नहुनेपनि सुझाव दिए । भारतसँगको सम्बन्धको विषयमा नेपालले राष्ट्रिय सहमति कायम गर्नुपर्नेपनि उनको धारणा छ ।

उनले भने,‘भारतसँगको नेपाल सम्बन्ध अब कुनै पार्टीको या नेताको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको साझा दृष्टिकोण हुनुपर्छ । हामीले यसमा राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ ।’ मोदीले खोलेको नेपाल–भारत सम्बन्धको राजनीतिक ढोकालाई आगामी दिनमा अझै सशक्त रुपमा लैजानुपर्ने पनि उनले सुझाव दिए ।

उनले नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटहरु सञ्चालनमा आउने भएकोले यसलेपनि दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने बताए । नेपालले पनि भारतसामू बोलेका कुराहरु पूरा गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्