Logo

गणतन्त्र दिवसमा अन्तिम राजा देशबाहिर : पूर्वराजा ज्ञानेन्द्र बैंककमा के गर्दैछन् ?



काठमाडौं, १५ जेठ ।  देशमा गणतन्त्र घोषणा भएको १० वर्ष पूरा भई ११ वर्ष पुग्दा अन्तिम राजा ज्ञानेन्द्र शाह देशबाहिर छन् । सपरिवार बैंकक रहेका उनी परिवारसँग रमाइरहेको ज्ञानेन्द्रनिकट स्रोतले रिपोर्टर्स नेपाल डट कमलाई जानकारी दियो ।

‘नातिनीको दिक्षान्तका लागि बैंकक सवारी होइबक्सेको हो,’ शाह निकटस्थले भने,‘यसपटकको भ्रमणमा निकै उत्साही होइबक्सेको छ ।’ शाह उत्साही हुनुमा महत्वपूर्ण भेट हुनुलाई पनि कारण मानिएको छ । जेठी नातिनीको बैंकस्थित विद्यालयबाट उच्च माध्यमिक तहक पूरा गरेकीले पनि शाह निकै खुशी रहेको बुझिएको छ । बैंककमा अध्ययन गरिरहेकी पूर्णिकाले विश्वविद्यालयको अध्ययन शुरु गर्दैछिन् ।

शाहका नाति हृदयन्द्र देशभित्र अध्ययन गरिरहेका छन् । उनले यसै वर्ष विद्यालय तहको शिक्षा पूरा गर्दैछन् । कान्छी नातिनी कृतिका पनि विदेशमा दश जोड दुईमा अध्ययनरत छिन् । उनले गएको वर्ष माध्यमिक शिक्षा पूरा गरेकी हुन् । छोरा पारसका कारण तनावमा परेका ज्ञानेन्द्र नाति नातिनाको प्रगतिबाट तनावमुक्त हुँदै गएको उनी निकटस्थले बताए ।

गणतन्त्र दिवसमा देशबाहिर

पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार बैंकक उडेको १० दिन बितेको छ । ५ जेष्ठमा बैंकका लागि प्रस्थान गरेका उनको विदेश बसाईँ लामो रहने भएको छ । उनी ३ असारमा नेपाल फर्कनेछन् । गणतन्त्र दिवसमा संविधानसभा सदस्यहरुले विभुषण थापिरहँदा ज्ञानेन्द्र शाह विदेशमा रहनुलाई अर्थपूर्ण मानिएको छ । यसलाई शाह निकटस्थहरुले संयोग मानेका छन् । भ्रमण पहिल्यै नै तय भइसकेको शाह निकटस्थले रिपोर्टर्स नेपाल डट कमलाई बताए ।

राजसंस्था फर्काउने प्रयास

देशमा गणतन्त्र स्थापित भइसकेपनि बेला बेलामा राजसंस्था फर्काउन चाहनेहरुको सक्रियता देखिदै आएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह स्वयं यसमा सक्रिय छन् । उनको देशदौडाहालाई राजसंस्था फर्काउने चलखेलका रुपमा लिनेहरु समेत छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था स्थापित गर्ने मुद्दालाई प्राथमिकतामा राखेका छन् । उनले बुधबार राजासहित सबै अटाउने व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए । आन्तरिक समर्थन जुटाउन राजावादीहरु असफल भइरहँदा अन्तर्राष्ट्रिय समर्थन समेत जुट्न सकेको छैन । यसबाट राजसंस्थाका पक्षधरहरु निराश हुँदै आएका छन् ।

देशभित्र आफ्नो पक्षमा माहोल नबनेकाले पनि अन्तर्राष्ट्रिय चासो नदेखिएको ठानेर देश दौडाहालाई जोड दिएका छन् । पूर्व राजा शाह ३ असारमा स्वदेश फर्किएलगत्तै देश दौडाहामा जाने बुझिएको छ । २३ असारमा काठमाडौं बाहिर जन्मदिन मनाउने तय भइसकेको छ । शाह निकटस्थका अनुसार यसपटक पूर्व राजाको जन्मदिन नेपालगञ्जमा मनाउने तय भएको छ । बैंकक जानुअघि शाहले पूर्व र मध्य तराईको भ्रमण गरी तीर्थस्थलमा पूजा गरेका थिए । धार्मिक भ्रमणलाई आन्तरिक शक्तिसंचयको अवसरका रुपमा लिइआएका छन् ।

शाहको देशदौडाहा र सक्रियताप्रति प्रधानमन्त्री केपी शर्मा ओली देखि नेकपा अध्यक्ष प्रचण्डसम्मले चासो लिएका थिए । सत्तारुढ नेकपालगायतका दलले पूर्व राजाको सक्रियतालाई गम्भीरतापूर्वक लिइरहेको संकेत मिलिसकेको छ ।

भाजपा जितको असर

पूर्व राजा ज्ञानेन्द्र शाहको भारतका प्रभावशाली नेताहरुसँग नातासम्बन्ध रहेको छ । कँग्रेस आईका वरिष्ठ नेता करण सिंहका उनका नातेदार हुन् । भाजपाका नेताहरुसँग पनि उनको नातासम्बन्ध रहेको छ । तर, विचारका दृष्टिले भारतीय जनता पार्टीका नेताहरुसँग पूर्व राजाको निकटता रहने गरेको छ ।

योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री नहुँदै नेपाल आउँदा पूर्व राजासँग एउटा धार्मिक कार्यक्रममा साथै थिए । योगीले नेपालमा हिन्दु अधिराज्य र राजसंस्था स्थापित गर्नूपर्ने अभिव्यक्ति दिएर गएका थिए । तर, मुख्यमन्त्री भएपछि यी दुवै मुद्दाबारे योगी आदियत्यनाथ मौन छन् ।
भारतमा दोस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री बनेपछि हिन्दु राज्य स्थापित गर्न चाहनेहरु उत्साही भएका छन् । मोदी आफै हिन्दुवादी नेताको परिचय बोकेका नेता हुन् । पूर्व राजा ज्ञानेन्द्रले पनि पछिल्लो समय धर्मको मुद्दालाई जोडतोडका साथ उठाएका छन् ।

भाजपाको भारतमा जीतले पूर्व राजाका समर्थकहरुलाई उत्साही बनाएपनि भारतले हिन्दु अधिराज्य र राजसंस्थाको मुद्दालाई समर्थन गरिहाल्ने संकेत मिलिसकेको छैन । आन्तरिक माहोल मिलाएमा बाह्य समर्थन जुटाउने अवस्था बन्न सक्ने रणनीतिका साथ पूर्व राजाले पछिल्ला समयमा सक्रियता बढाएका छन् । बैंकको लामो बसाईं परिवारसँग मात्र रुमल्लिएको भन्न सकिदैन । फर्किएलगत्तै तय भएको पूर्व राजाको देशदौडाहाले राजनीतिक तरंग ल्याउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्