रेणुका सतीत्व र पतिप्रति निष्ठावान थिइन् । उनको सतीत्वका कारण काँचो माटोबाट भाँडो तयार गरी नदीबाट जल भरेर ल्याउन सक्थिन् । हरेक दिन रणुका त्यसरी नै काँचो माटोको भाँडो बनाएर जल भरेर फर्कन्थिन् । पत्नी रेणुकाले जल ल्याएपछि ऋषि जमडग्नीले आश्रमको पूजा गर्थे ।
एक दिन नदीतर्फ जाँदै गर्दा आकाशमा गन्दर्भहरु देखिन् । सुन्दर गन्दर्भहरु देखेर रणुका लोभिइन् । गन्दर्भको वायुयान अदृश्य भएपछि रेणुका काँचो माटोको भाँडो बनाउन लागिन् । भाँडो बनाएर पानी भर्न नदीमा पुग्थिन्, भाँडो पग्लिन्थ्यो । जति प्रयास गर्दा पनि पानी भाँडोमा अट्न सकेन ।
पत्नी नफर्किएपछि रेणुकाका पति ऋषि जमडग्नीले यौगिक शक्तिबाट हेरे । उनले रेणुका खोलामा पानी भर्न प्रयासरत हुँदा पनि नसकेको दृश्य देखे । यौगिक शक्तिले कारण पत्ता लगाए । ऋषि आक्रोशित भए ।
जमडग्नीले आफ्ना जेठा छोरा सोमलाई बोलाएर बञ्चरो दिदै आदेश दिए— तिम्रो आमालाई मारिदेऊ ! ऋषीपुत्रले इन्कार गरे । ऋषिले ढुङ्गा बनोस् भनी श्राप दिए ।
ऋषिले माहिला छोरा रुटुलाई बोलाए । उनले पनि इन्कार गरेपछि श्राप दिए । साहिला तुरभाषु र काहिला मेघले समेत आज्ञा मानेनन् । छोराहरुबाट आज्ञापालन नभएपछि श्राप दिए । ऋषिबाट श्रापितहरु सबै ढुङ्गामा परिणत भए ।
अन्तमा, ऋषि जमडग्नीले कान्छा छोरालाई बोलाएर आदेश दिए— तिम्रो आमाको शीर छेदन गर । बाबुका आज्ञाकारी परशुरामले आमाको टाउको काटिदिए ।
आज्ञाकारी छोराप्रति खुशी ऋषि जमडग्नीले भने— तिमीलाई म दुईवटा वरदान दिन्छु, जे माग्न मन लाग्छ माग ।
पशुरामले वरदान माग्दै भने—आमाको जीवन फर्काइदिनुहोस् र दाजुहरुलाई ढुङ्गाबाट पहिल्यकै अवस्थाामा ल्याइदिनुहोस् । छोराको मातृ, भातृप्रेम र निष्ठाबाट प्रभावित हुँदै मागेको पु¥याइदिए ।
रेणुले पुनः जीवन पाइन् । पशुरामका दाजुहरु ढुङ्गाबाट मनुष्य स्वरुपमा फर्किए । पशुरामले पिताको आज्ञा पालन गर्न आमाको शिर छेदन गर्न तयार भए । बाबुले बरदान माग्न भन्दा उनले मातृभक्ति र भातृप्रेम बिर्सिएनन् । उनीहरुको जीवन मागे । आफ्ना लागि केही मागेनन् ।