Logo

कन्हैया कुमारको हल्ला बढी जेएनयूका पूर्व विद्यार्थी जयशंकर र सीतारामनले मारे बाजी



भारतको लोकसभा चुनावमा यसपटक कन्हैया कुमार निकै चर्चामा आए । भारतको प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी संघको नेता हुँदै चर्चा कमाएका उनी कम्युनिष्ट पार्टीका तर्फबाट विहारको बेगुसेरायबाट चुनाव लडेका थिए ।

कन्हैया कुमारले बहालवाला मन्त्री गिरिजा सिंहसँग चार लाख मतान्तरले चुनाव हारे । भारतको मिडियाभन्दा बढी नेपालको मिडियामा चर्चा पाएका उनको हारलाई समर्थकहरुले सहजताका साथ लिन सकेनन् । कन्हैया यसपटकको चुनावमा चर्चामा आए । कुनैबेला जेएनयूकै छात्र संघका तत्कालिन अध्यक्ष सीताराम यचुरी पनि चर्चामा आएका थिए । उनी भारतको राजनीतिमा स्थापित भएपनि उनको दलले लोकसभा चुनावमा सर्मनाक हार व्यहोरको छ ।

चर्चाको चुलीमा पुगेपनि कन्हैया कुमार नीतिनिर्माण तहमा पुग्न सकेनन् । न त चुनाव जित्न नै सके । तर, जेएनयूकै पूर्व विद्यार्थीहरु निर्मला सीतारामन र एसं जयशंकरले छलाङ मारेका छन् । सीतारामनले अर्थमन्त्री र जयशंकरले विदेशमन्त्रालयको जिम्मेवारी पाएका छन् । दुवैले हालसम्म भारतको लोकसभा चुनाव समेत लडेका छैनन् । जयशंकरसँग राजनीतिक अनुभव पनि छैन । सीतारामनले भाजपाको राजनीतिक गरेको ११ वर्ष मात्र भयो ।

को हुन् सीतारामन

सीतारामनको राजनीतिक अनुभव लामो छैन । ११ वर्ष मात्र भयो उनी भारतीय जनता पार्टीमा आवद्ध भएको । कुनैबेला भारतको राष्ट्रिय महिला आयोगकी सदस्य उनले बेलायत बसाईंका क्रममा विभिन्न कम्पनिहरुमा काम गरिन् ।

सन् १९८० मा जेएनयूमा अर्थशास्त्रको अध्ययन गर्न दिल्ली आएकी थिइन् सीतारामन । त्यहीं उनको भेट पराकाला प्रभाकरसँग भयो । प्रभाकर कँग्रेस आईको विचारधारासँग आस्था राख्थे भने सीतारामनको राजनीतिक विचार फरक थियो । फरक राजनीतिक विचारका बाबजुद दुवैले विवाह गरे । अर्थशास्त्री प्रभाकरको बेलायतमा विद्यावारिधीको अध्ययनका लागि सीतारमनले आफ्नै विद्यावारिधी अध्ययन त्यागेकी थिइन् ।
पतिको अध्ययन पूरा भएपछि फर्किएकी उनलाई भाग्यले निकै साथ दियो । सन् २००८ मा मात्र भारतीय जनता पार्टीमा जोडिएकी उनलाई मोदीले सन् २०१४ मा कनिष्ठ मन्त्रीको जिम्मेवारी दिए । सोही वर्ष राज्यसभा चुनाव जितिन् । रक्षामन्त्रालयको जिम्मेवारी खाली भएपछि सीतारामनले उक्त जिम्मेवारी पाइन् । भारतमा इन्दिरा गान्धी पछि रक्षामन्त्री हुने उनी दोस्री महिला बनिन् ।

भारतमा मोदीको दोस्रो कार्यकालमा अर्थमन्त्रीको जिम्मेवारी कस्ले सम्हाल्ला भन्ने चासो रहँदै आएको थियो । अरुण जेट्लीले स्वास्थ्यका कारण देखाउँदै पुनः मन्त्री नबन्ने बताइसकेका थिए । अर्थमन्त्रालयको जिम्मेवारी सीतारामनले पाइन् । जेएनयूबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनका लागि अध्ययन फलिफाप भयो । जेएनयूको शिक्षा सीतारामनका लागि लाभदायक बन्यो ।

को हुन् जयशंकर

जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सुव्रमण्यम जयशंकरले केही समय पत्रकारिता समेत गरेका थिए । जेएनयूमा विद्यावारिधी गर्दै गर्दा उनले पत्रकारिता समेत गरेका हुन् । दिल्लीका जन्मिएका हुर्किएका उनले जेएनयूबाट राजनीतिशास्त्रमा स्नातकोत्तकर गरेपछि अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गर्न विषय परिवर्तन गरेका थिए । जयशंकरले आणविक कुटनीतिबारे शोध तयार गरेका थिए ।

सुष्मा स्वराज मन्त्री नबन्ने निश्चित भएपछि सपथ समारोहमा मन्त्री बन्नेको लाइनमा रहेका जयंशकर नै विदेशमन्त्री बन्ने अड्कल गरिएको थियो । आखिर आणविक कुटनीतिका ज्ञातालाई मोदीले रुचाए । दिल्लीमा जन्मिएका ६४ वर्षीय जयशंकरका पिता के. सुव्रमण्यम रणनीतिक मामलाका जानकार थिए । पारिवारिक पृष्ठभूमिले पनि जयशंकरलाई विषय ज्ञान अभिवृद्धिमा सघाऊ पुगयो ।

जयशंकर तीन दशकभन्दा लामो समय भारतको विदेश सेवामा बिताएका अनुभवी कुटनीतिज्ञ हुन् । मोदी जयशंकरको क्षमताबाट यति धेरै प्रभावित भए कि उनलाई उचित स्थान दिदै गए । विदेश सचिव बनाउँदा कर्मचारीतन्त्रको परम्परागत पद्धतिलाई समेत बेवास्ता गरेका थिए । विदेश मन्त्रालयका आफूभन्दा वरिष्ठ कर्मचारीहरुलाई उछिन्दै जयशंकरले विदेश सचिव बनेर बाजी मारेका थिए ।

चीनको समेत राजदूत बनिसकेका जयशंकरले मोदीको चीनसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पश्चिमा राष्ट्रहरुले मोदीलाई उनीहरुको देशमा भ्रमण समेत गर्न नसक्ने गरी भ्रमण रोक लगाउँदा गुजरातका मुख्यमन्त्रीका रुपमा मोदीले चीनको भ्रमण गरेका थिए । यसमा जयशंकरले वातावरण तयार गरिदिएका थिए ।

अमेरिकाका लागि जयशंकर राजदूत हुँदा मोदीलाई लाभ हुने वातावरण तयार गरिदिएका थिए । अमेरिकाले मोदीलाई भीसा रोक लगाएकोमा जयशंकर अमेरिकाका लागि भारतीय राजदूत हुँदा एक दशक लामो रोकावट फुक्यो । अमेरिकासँग मोदीको सुमधुर सम्बन्ध स्थापित बनाउन जयशंकरले भूमिका खेले ।

जयशंकरले भारतको चीनसँग सन् २०१७ मा दोक्लाममा भएको विवाद समाधानमा मुख्य भूमिका निभाए । चीनमा राजदूत भई काम गरिसकेकाले जयशंकरले कुटनीतिक क्षमता देखाएर समस्या समाधानम भूमिका खेलेका थिए ।

जयशंकरको कुटनीतिक चार्तुयताका कारण मोदी उनीबाट निकै प्रभावित भए । त्यसैले, भारतीय जनता पार्टीमा एक से एक कुटनीतिक क्षमता प्रदर्शन गर्ने नेता कार्यकर्ता हुँदाहुँदै एस. जयशंकरलाई मन्त्री बनाए ।

जेएनयूको शिक्षादिक्षाले जयशंकर खारिएका थिए । सन् १९७७ मा भारतीय विदेश सेवामा अधिकृतमा नाम निकाल्न सफल उनलाई जेएनयूको वातावरणले सघाऊ पु¥यायो । जेएनयू भारतको राजनीतिमा मात्र नभई लोकसेवा परीक्षामा सामेल हुनेहरुका लागि पनि उर्वर स्थानका रुपमा परिचित छ । हरेक वर्ष जेएनयूमा अध्ययनरत दर्जनौं विद्यार्थी लोकसेवामा सफल हुनेगर्छन् ।

लोकसभाको चुनाव हालसम्म नलडेका जेएनयूका पूर्व विद्यार्थी सीतारामन र जयशंकरले भारतको राजनीतिमा महत्वपूर्ण स्थान बनाएका छन् । जयशंकरले त कुनै पनि चुनाव लडेका छैनन् । चर्चा र लोकप्रीयताभन्दा टाढा रहेका सीतारामन र जयशंकरले नीतिनिर्माण तहमा बलियो स्थान बनाउन सके । लोकप्रीयताको शिखरमा रहेपनि चुनाव हारेका कम्युनिष्ट नेता कन्हैया कुमारको भविष्य के हुने हो हेर्न बाँकी छ । भारतमा कम्युनिष्ट पार्टी कमजोर हुँदै जाँदा उनले राजनीति कसरी अगाडि बढाउलान् ?



प्रतिक्रिया दिनुहोस्