Logo

ओली–प्रचण्डबीच दरारका पाँच कारण



प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहका लागि नयाँ दिल्ली पुग्दै गर्दा ऋषि धमलाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग लिएको सनसनीपूर्ण अन्तवार्ताले विगतमा ओली र प्रचण्डबीचको सहमति खुल्यो । यो घटनाले नेपाली राजनीतिक वृत्तमा तरंग ल्यायो । ओली र प्रचण्डबीचको दरार छरपष्ट भयो ।

दरारलाई लिएर राजनीतिक वृत्तमा टिकाटिप्पणी शुरु भएका छन् । धमलाले हवाईजहाजमा लिएको अन्तवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देशबाहिर हुँदा किन यस्ता विषय उठ्छन् भनी बोले । भएको सहमति बाहिर ल्याउनुको अर्थ नभएको भन्दै आफू पाँच वर्ष देशको प्रधानमन्त्री बन्ने संकेत गरे । प्रचण्डले अढाई वर्ष ओली र अढाई वर्ष आफू प्रधानमन्त्री बन्ने गरी भित्री सहमति भएको खुलाउनुलाई ओलीप्रतिको असन्तुष्टिका रुपमा बुझिएको छ ।

किन बढ्यो दरार ?

पार्टी एकता गर्दा प्रचण्डले निकै जोखिम मोलेका थिए । उनलाई एमालेमा विलय भनियो । तर, ओलीको नेतृत्व स्वीकार्दै प्रचण्डले छलाङ मारे । आफू सबैलाई आश्चर्य पार्ने गरी निर्णय लिने नेता भएको भने ।

एकता अनुसार दुवै नेता अध्यक्ष बने । मन्त्रीको भागवण्डा देखि पार्टीका सबै निकायमा ६०÷४० को टुंगो लाग्यो । तर महत्वपूर्ण निर्णयहरुमा ओलीले प्रचण्डलाई बेवास्ता गरे । बालुवाटारमा भेट्न पुगेका प्रचण्डलाई घन्टौं कुराउने सम्मको व्यवहार ओलीबाट भएको विषय बाहिर आयो ।

१. नियुक्तिमा बेवास्ता

पछिल्लो समय संवैधानिक निकाय देखि विभिन्न क्षेत्रमा नियुक्तिहरु भयो । त्यसमा प्रचण्डलाई निर्णयमा सामेल गराइएन । प्रचण्डनिकटस्थले यसबारे गम्भीर प्रकारले ब्रिफिङ गरेपछि कडा रुपमा प्रस्तुत हुने समयको प्रतिक्षा गरिरहेका थिए ।

२. नेकपाको बैठकमा समेत आलोपालो अध्यक्षता गर्ने टुंगो लागेको थियो । त्यसमा पनि प्रचण्डलाई बेवास्ता गरे ओलीले । सरकार र पार्टीको नेतृत्वमध्ये एउटामात्र हुनुपर्ने विषय समेत उठ्यो । अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहेका ओली नेकपाभित्र हावी भए । जसलाई प्रचण्ड र उनीनिकटस्थले सहज मान्न सकेनन् ।

३. सरकार संचालनमा ओलीले प्रचण्डलाई बेवास्ता गरे । सरकारका कतिपय निर्णयमा प्रचण्डलाई वाइपास गरियो । बजेट बनाउँदा ओलीले एकलौटी ढंगले गरेको भन्दै पूर्व माओवादी नेताहरु प्रचण्डकहाँ पुगे । यसलाई आफूले गम्भीरताका साथ लिएको जवाफ प्रचण्डले दिए ।

४. सरकारले भ्रष्टाचार नियन्त्रण देखि सुशासनका कार्यक्रम ल्याउन नसकेको गुनासाहरु नेकपाभित्र आयो । जग्गा काण्ड देखि विभिन्न विवादास्पद विषयमा नेकपाका नेताहरु मुछिए । यसमा ओलीले ठोस निर्णय लिन नसकेको भन्दै प्रचण्ड पक्षधरले असन्तुष्टि पोखे ।

५. अन्तर्राष्ट्रिय सम्बन्धमा समेत ओलीले सन्तुलित व्यवहार नगरेको विषय उठिरह्यो । ओली भारतसँग टाढिएर चीनसँग नजिकिएको सन्देश प्रवाह भयो । प्रचण्ड दुवै छिमेकीसँग सन्तुलित सम्बन्धको पक्षधर थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिङपिङसँग एकसाथ भेटेर आफूले सन्तुलित सम्बन्ध स्थापित गर्न सक्ने सन्देश दिएका थिए । उनी अहिले पनि त्यस्तै रणनीतिका पक्षधर हुन् । ओलीको विदेशनीति सन्तुलित हुन नसकिरहेको अवस्थामा प्रचण्डलाई विरोधको मौका मिलिरहेको थियो ।

आन्तरिक प्रतिष्पर्धा चर्कियो

ओली र प्रचण्डबीच एक अर्काका निकटस्थहरुलाई आफूतर्फ तान्ने प्रतिष्पर्धा चलिरहेको छ । यसबीच केही नेताहरुले गुट परिवर्तन गरेका छन् । ओली निकटस्थ भनिएका वामदेव गौतम प्रचण्ड पक्षधर भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको निकटता ओलीसँग बढेको छ । अबका दिनमा जो कोहीले गुट परिवर्तन गर्न सक्ने अवस्था बनेको नेकपाका एक प्रभावशाली नेताले रिपार्टर्स नेपाल डट कमलाई बताए । नेकपाभित्र भित्र भित्र बढेको असन्तुष्टिले धाजा फाँट्दै गएको छ ।

कुर्सीमा कम्पन

पार्टी संगठनमा प्रचण्डको पकड बलियो भएपनि संसदीय दलमा ओलीको भारी बहुमत छ । यसकारण पनि ओली ढुक्क छन् भने प्रचण्डलाई चुनौती छ । भविष्यमा संसदीय दलमा बहुमत भएकै आधारमा ओलीले सत्ता नछाड्ने अवस्था बन्नेमा प्रचण्डलाई भय छ । विगतका सहमति भन्दा पार्टी र संसदीय दलको निर्णय अनुसार सरकार संचालन र नेतृत्व चयन हुनसक्छ । त्यो अवस्थामा ओली हावी नै भएमा प्रचण्ड अबको डेढ वर्षपछि प्रधानमन्त्री बन्ने मार्गमा अवरोध हुनसक्छ । यसकारण पनि प्रचण्ड हतारिएका छन् । जसका कारण विवाद सतहमा आएको छ । यसले नयाँ समस्या बढाएको छ ।

ओली भारत जाँदै गर्दा प्रचण्डको विगत सहमतिबारे आफ्नै मुखबाट भएको खुलासा संयोगमात्र होइन । छिमेकमा मोदीको सानदार जीतलाई प्रचण्डले आफ्नो राजनीतिक लाभमा ढाल्ने रणनीति बनाउन सक्छन् ।

ओलीले चीनबाट रेल ल्याउने भाषण गर्दै आएकोमा नेपालका लागि चिनियाँ राजदूत हु यान्कीले त्यो त्यति सहज नभएको जवाफ दिइन् । भारतमा मोदीको जीत भइरहँदा चिनियाँ राजदूतबाट ओलीलाई असर पर्ने गरी भनाई आयो ।

यी सबै घटनाक्रमले नयाँ राजनीतिक परिस्थिति निर्माणको खिचडी पकाउन खोजिको बुझ्न सकिन्छ । सत्ताका लागि सतरञ्ज चलिरहेको छ । जसका कारण नेकपाभित्र ओली र प्रचण्डबीचको दरार सतहमा देखिएको छ । यसले निकट भविष्यमा सत्तामा समेत धक्का नपर्ला भन्न सकिन्न ।



प्रतिक्रिया दिनुहोस्