Logo

ओलीले किन गरे ५० वर्ष शासन चलाउने कुरा ?



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसित उमेर भएको भए ५० वर्ष शासन चलाउने उत्साह रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाको स्मार्ट्सिटी प्रविधि प्रतिस्पर्धाको अन्तिम छनोट कार्यक्रममा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले ‘समय भएको भए अझै ५० वर्ष शासन चलाउँथेंजस्तो लाग्ने गरेको’ बताए । यद्धपी उनले तानाशाहजस्तो लामो समय शासनमा बसिरहन खोजेकोचाहिँ नभएको जिकिर गरे । ओलीले युवाहरुसित समय रहेको भन्दै उनीहरुलाई उत्पादनशील बन्न सुझाव दिए ।

तिस्पर्धामा ‘एनी टाइम ट्वाइलेट’ प्रथम

काठमाडौँ महानगरले सञ्चालन गरेको स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा समुदाय र वातावरण विधाबाट ‘एनी टाइम ट्वाइलेट’ नामक समूहका प्रथम बनेको छ । उक्त समूहलाई प्रधामन्त्रीले रु पाँच लाख पुरस्कार प्रदान गरे ।

शहरमा हरेक मानिसले शौचालयको समस्या भोगेका छन् । त्यो समस्या समाधान गर्न हामी प्रविधिमार्फत हरेक रेष्टुरेष्टसँग उपभोक्ताको सम्बन्ध जोड्छौँ । सजिलो प्रबिधिबाट हरेक व्यक्तिको आवश्यता पूरा गराउन सकिन्छ । यही साँेचमा आधारित प्रविधि प्रतिस्पर्धाबाट समूह उक्त समूह प्रथम बिजेता बनेको हो ।

यो समूहसँगै अन्य तीन वटा विषयगत विजेता समूहलाई जनही रु दुई लाख प्रदान गरिएको छ । यसरी विषयगत विजेता भएर रु दुई लाख पाउनेमा शहरी पूर्वाधारतर्फ ट्राफिक नक्शा, महानगरीय सामुदायिक सेवातर्फ डिजिटल नेपाल र महानगरीय सार्वजनिक प्रशासन तथा व्यवस्थापनतर्फ ‘भूमि’ नामक समूह रहेका छन् ।

यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मुख्य चार विषय समेटिएको थियो । दुई जनादेखि पाँच जनासम्मको समूहले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी कार्यविधि जारी गरिएको यस प्रतिस्पर्धामा ४५२ समूहका एक हजार ३५६ जना युवाले आफ्ना नविन सोच पेश गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्