काठमाडौं, २३ जेठ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ७ दशमलब १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज नेपालको अर्थतन्त्रको प्रतिवेदन काठमाडौंमा सार्वजनिक गर्दै सेवा र कृषि क्षेत्रमा आउने सुधारका कारण आर्थिक वृद्धि ७ दशमलब १ प्रतिशत हुने जनाएको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिवेदनले औल्याएका सुझाव र प्रक्षेपणको स्वागत गर्दै संघीयता संस्थागत गर्ने चुनौती रहेको बताए । उनले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत सुधार गर्दै आएको बताए ।
यस वर्ष सेवा र कृषि क्षेत्रतर्फको वृद्धिदर ७ दशमलब ५ प्रतिशत हुने अनुमान विश्व बैंकको छ । विश्व बैंकले दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न सक्ने संभावना रहेको समेत जनाएको छ ।
तर त्यसका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको न्यूनतम मापदण्ड प्राप्त हुनुपर्ने उल्लेख छ । ४ दशमलब १ प्रतिशतको मूल्यवृद्धि हुने अनुमान गरेको बैंकले कमजोर सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद यो आर्थिक बृद्धि हासिल गर्ने प्रक्षेपण गरेको हो । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम