जेठ २४, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रिय नेताहरुको कार्यविभाजन तथा पोलिटव्युरो गठनको विषय थप जटिल बन्दै गएको छ । नेताहरुको कार्यविभाजन र पोलिटव्युरो गठनमा एक व्यत्ति एक पदको विषयमा शिर्ष नेताहरु आ–आफ्नो अडानबाट पछि नहटेपछि सचिवालय बैठक समेत निष्कर्षविहिन बन्दै आएको छ । जसले नेकपाभित्रको पार्टी एकताको बांकी काम थप अन्यौल बन्दै गएको छ ।
गत आइतबार देखि नै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीका केन्द्रिय नेताहरुको कार्यविभाजन तथा पोलिव्युरो गठनका विषय वान टु वान छलफल भएपनि कुनै सहमती हुन सकेन । दुई अध्यक्षलाई यसअघि पार्टीका महासचिव विष्णु पौडेल र रामबहादुर थापाले तयार पारेको कार्य विभाजनको ड्राफ्ट बुझाएका थिए ।
तर नेताहरुविच उक्त नामवलीमा आ–आफ्ना मान्छेहरु नपरेपछि असमझदारी बढेको हो । मंगलबार दिउंसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य इश्वर पोखरेल कार्यविभाजनमा नेताहरुलाई दोहोरो पद दिए पनि केही फरक नपर्ने पक्षमा देखिए ।
अर्का अध्यक्ष दाहाल, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल लगायतका नेताहरु एक व्यत्ति एक पदको सिदान्त लागुगर्नु पर्ने अडानमा रहेपछि मंगवबारको सचिवालय बैठक निष्कर्षविहिन भयो । मंगलबारको बैठकमा कुनै निर्णय हुन नसकेपछि बुधबार १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसे ।
बुधबार पनि करिव साढे दुइघण्टासम्म बसेको सचिवालय बैठकमा पनि उही पुरानै कुरा दोहोरिएपछि कुनै निर्णय हुन सकेन । सचिवालय बैठकमा जिम्मेवारी बाँडफाँड गर्दा र मन्त्री र सांसदहरुलाइ पार्टीको इञ्चार्जको जिम्मा दिन हुने र नहुने भन्नेमा नै विवाद छ । अर्कोतिर नेकपामा अहिले ३२ विभागहरु, पोलिटव्यूरोको गठन र सम्पर्क मञ्चहरुको गठन हुन बाँकी छ। अहिले संगठन विभागको प्रमुखमा समेत मुख्य विवाद छ ।
विहिवार त झन गृहकार्य नपुगेको भन्दै सचिवालय बैठक बस्नै सकेन ।
संगठन विभागको प्रमुखमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बामदेव गौतमको नाम अगाडि सारेका छन् भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामबहादुर थापा बादललाई अगाडि सारेका छन्। बादललाई संगठन विभागको जिम्मेवारी दिँदा पार्टीको संगठनमा असर पर्ने भन्दै सचिवालय बैठक भित्र ओली पक्षबाहेकले सहमति जनाएका छैनन् ।
पार्टीका वरिष्ठ नेता माधव नेपाल सांसद प्रदेशसभाका सदस्य तथा मन्त्री भएकालाई थप जिम्मेवारी दिन नहुने पक्षमा उभिएका छन् भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली दिनुपर्ने पक्षमा उभिएका छन् । पछिल्लो पटक अध्यक्ष दाहालले पार्टी एकता हुंदा दुइअध्यक्ष विच आलोपालो सरकारको नेतृत्व गर्ने तथा पार्टी अध्यक्षको जिम्मेवारी एकले गर्दा अर्को अध्यक्षले सरकारको नेतृत्व गर्नुपर्ने अभिव्यत्ति दिएका थिए । जुन विषयले नेकपाभित्र ठुलै हलचल मच्चाएको थियो ।