जेठ २५, काठमाण्डौ । नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित गरेकोमा कडा आपत्ति जनाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षसमेत रहेका हिराचनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनीय भएको टिप्पणी गरे ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाईमा कुनै सत्यता नै नभएको जिकिर गरे । नेपाल एयरलाईन्सको जापानी टिकट बुकिङ प्रणाली नै तयार नभएको अवस्थामा निगमले बुकिङ खुल्ला गर्नुपर्ने उनको तर्क छ ।
तर बुकिङ नै नखुलाई एक्कासी टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित् गर्नु रहस्यमयी भएको हिराचनले बताए ।
उनले नेपाल एयरलाईन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भएपनि यसको लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएकोपनि गुनासो पोखेका थिए ।
नेपालको तर्फबाट निगमले जतिसक्दो चाँडो प्राविधिक टोली जापान पठाई टिकट बुकिङ प्रणाली सुचारु गर्नुपर्नेमा ध्यान नदिइएको आरोप लगाए ।
उनले दिर्घकालिन महत्व बोकेको नेपाल–जापान सिधा हवाई उडान सम्झौतालाई नेपाल वायु सेवा निगमले गरेको खेलबाडका कारण नेपाल–जापान द्धिपक्षीय सम्बन्धमा पनि आगामी दिनमा असर पुग्नेबारे चिन्ता व्यक्त गरेका छन् ।