Logo

नामै नलिई ओली–प्रचण्डमाथि ईश्वर पोखरेलको कटाक्ष



काठमाडौं, २५ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको चुनौति भनेको नेतृत्वमा रहेको इमान्दारिताको स्खलनलाई राख्नु रहेको बताएका छन् ।

शनिबार प्रा.डा. रामप्रसाद पोखरेल कृति ‘आँखाका मणि’ विमोचन गर्न शनिवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने, ‘आफूलाई केन्द्रमा राखेर नीति निर्णय गर्ने, समूहलाई राखेर हैन । अहिले यस्तो प्रवृति बढ्दै गएको छ । म यो पार्टी त्यो पार्टी भन्दिन । सबै पार्टीमा अहिले नैतिकता स्खलित हुँदै गइरहेको छ । यो अवस्था रहुञ्जेलसम्म समाज परिवर्तन हुन सक्दैन ।’

पोखरेलले व्यक्ति र पार्टीको नाम नखुलाई केन्द्रमा बस्नेहरुको इमान्दारिता स्खलित भएको उल्लेख गरे । नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री पोखरेलले भने–‘राजनीति क्षेत्रमा कतिसम्म नैतिकताको स्खलन हुँदो रहेछ भने जब त्यो नेतृत्व गर्ने समूहले आफूलाई केन्द्रमा राखेर निर्णय गर्न थाल्छ, हरेक कुराको हिसावकिताब खोज्छ । बाहिर देख्दा त त्यो भव्य देखिएला तर उसले इन्टिग्रिटी लुज गरेपछि त्यो स्खलित हुन्छ ।’

उनले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै थपे–‘सत्ता अवसरवादले मानिसलाई यसरी नराम्रोसँग गाँजेको छ कि, यसले समाजलाई समेत असर पुर्याउँछ । यो पक्ष र त्यो पक्ष भनेर म भन्दिनँ तर त्यस्तो ठाउँमा हाम्रो खबरदारी गर्न आवश्यक छ ।’

कार्यक्रममा विमोचन गरिएको वरिष्ठ आँखा चिकित्सक प्रा.डा. रामप्रसाद पोखरेलको जीवनीमाथि बोल्दै मन्त्री पोखरेलले विभिन्न ठूला अवसर आएपनि त्यसलाई त्यागेर आफ्नै भूमिमा काम गर्ने इमान्दार व्यक्तित्व भएको टिप्पणी गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्