भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहसँगको भेटमा क्रिकेट ब्याट उपहार दिए । ८ जुनमा माले पुग्दा उनले सोलिहलाई क्रिकेट ब्याट दिइरहँदा भारतले सानो टापु राष्ट्रमा क्रिकेट मैदान बनाइदिने भएको छ । मालदिभ्सलाई मोदीले दोस्रो कार्यकाल प्रधानमन्त्री भएपछि पहिलो भ्रमण राष्ट्रका रुपमा रोजेर उच्च महत्वको संकेत गरिसकेका छन् ।
पहिलो कार्यकालमा मोदी मालदिभ्स पुगेनन् । उनी अगाडिका प्रधानमन्त्री डा. मनमोहन सिंहले मालदिभ्सको भ्रमण गरेको आठ वर्ष पुगेको छ । कुनैपनि भारतीय प्रधानमन्त्रीले आठ वर्षपछि मालदिभ्सको भ्रमण गर्न लागेकाले मात्र मालदिभ्स भ्रमणले महत्व पाएको होइन ।
मालदिभ्समा भारतीय प्रभाव
मालदिभ्सको शक्ति संघर्षमा भारत प्रत्यक्ष अप्रत्यक्ष सहभागी बन्यो । राष्ट्रपति आफ्ना विश्वासिलालाई बनाउन भारत र चीन जस्ता शक्तिहरु सक्रिय भइरहे । चीनको प्रभाव विस्तार र लगानीलाई लिएर भारतले गम्भीर चासो व्यक्त गर्दै आयो । जसका कारण त्यहाँ राजनीतिक अस्थिरता बढिरह्यो । नयाँ राष्ट्रपति इब्राहिम मोहमद सोलिह भारतले विश्वास गरेकामा पर्छन् ।
भारत र मालदिभ्सबीच पछिल्लो समय निकै सुमधुर सम्बन्ध स्थापित भएको छ । मालदिभ्समा सत्ता परिवर्तनपछि भारतसँगको सम्बन्धमा विगतमा आएको गतिरोध समेत अन्त भइसकेको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई चुनावमार्फत् विस्थापित गरी सोलिह राष्ट्रपति भएका हुन् । उनलाई सत्तामा स्थापित गर्न भारतले मुख्य भूमिका खेलेको थियो ।
श्रीलंकामा मोदीको प्रतिक्षा
मालदिभ्सको भ्रमणपछि मोदी सिधै श्रीलंका पुग्नेछन् । मोदीले आफ्नो सपथमा पुगेका श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनाले दिएको निम्तो स्वीकार गरेका थिए । ९ जुनमा मोदी कोलम्बो पुग्ने छन् । भारत फर्कनुअघि मोदीले केही घण्टा कोलम्बोमा बिताउनेछन् ।
श्रीलंकासँग पनि भारतको सम्बन्ध निकै प्रगाढ भएको छ । पूर्व राष्ट्रपति महीन्द्रा राजापाक्षको कार्यकालमा भारतसँगको सम्बन्ध चिसिएको थियो । मैत्रीपाला सिररेना राष्ट्रपति बनेपछि श्रीलंका भारतसँग निकै नजिकिएको छ । श्रीलंकामा भएको पछिल्लो आतंककारी हमलाका दोषी पत्ता लगाउन भारतले सहयोग पु¥याउँदै आएको छ ।
भारत भ्रमणका बखत सिरसेनाले भारतले हमलाको पूर्वसूचना दिइसकेपनि आफूलाई जानकारीमा नआएको खुलासा गरेका छन् । भारतको सहयोगको आशा गरिरहेको श्रीलंकामा मोदीको भ्रमणले क्षेत्रीय शक्तिको प्रभावमा भएको बदलावको संकेत गरेको छ ।