Logo

मोदीको रोजाईमा प्रचण्ड



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकार चलाउने भनेर दिएको अभिव्यक्तिले नेपाली राजनीति तरंगित बनाएको छ । गणतन्त्र दिवसको अवसरमा प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रचण्डले आफू र ओलीबीच अढाई/अढाई वर्ष सरकार चलाउने भद्र सहमति भएको खुलासा गरेका थिए । जतिवेला, प्रधानमन्त्री ओली भारत भ्रमणमा थिए । जब ओली विदेश यात्रामा निस्किन्छिन्, तब प्रचण्डले पार्टी र पुरै देशलाई नै हल्लाउनेगरि नयाँ राजनीतिक तरंग पैदा गराउने अभिव्यक्ति दिन्छन् । हुन त प्रचण्ड राजनीतिमा नयाँ बहस छेड्ने नेताको रुपमा परिचित छन् । दाहालमाथि अस्थिर नेताको आरोपसमेत लाग्ने गरेको छ । तर, प्रचण्डले आफूमाथि लागेको आरोप स्वीकार गर्न तयार छैनन् ।

प्रचण्डको अभिव्यक्तिले पूरै राजनीति तरंगित

नेकपाभित्र पार्टीको तल्लो तहको एकता टुँगो लगाएर केन्द्रीय सदस्यहरुलाई कार्यविभाजन गर्ने मुखमा प्रचण्डको उक्त अभिव्यक्तिले नेकपामात्रै होईन पूरै राजनीति तरंगित भयो । प्रचण्डको उक्त अभिव्यक्तिलाई नेपालका प्रायः सबै मूलधारका मिडियाले उच्च महत्वका साथ स्थान दिए । ओली भारतमा थिए । तर, उनले भारतमै रहँदापनि नेपालको बारेमा अपडेट लिएका थिए । स्वदेश फर्कने क्रममा ओलीले प्रचण्डसँग अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमलालाई नै विमानमै अन्तर्वार्ता दिए ।

प्रचण्डले उठाएको आलोपाले प्रधानमन्त्रीको ईस्युमा ओलीले सहमति भएको कुरा स्वीकार गरे । तर, यो विषय हल्का रुपमा भन्दै हिँड्ने विषय नभएको भन्दै प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । उनी भित्री रुपमा प्रचण्डसँग रुष्ट रहेको कुरा धमलासँगको कुराकानीमा उनको ‘फेस–रिड’ गर्दा नै थाहा हुन्थ्यो ।

नेकपाभित्र आलोपालोको विषयमा अध्यक्षद्धय ओली र प्रचण्ड खेमाका आ–आफ्ना समूहका नेताहरुको मत विभाजित भयो । दुवै पक्षले आफ्नो नेताको अभिव्यक्तिको बचाउ गरे । ओली भारत गएकै बेला प्रचण्डले किन उठाए आलोपालो विषय ? यो पनि अहिले खोजीको विषय बनेको छ । तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड भारतसँग नजिक छन् । यो कुरा स्वयम भारतका प्रभावशाली र जिम्मेवार तहमा बसेका व्यक्तिहरुले पनि खुलासा गरिसकेका छन् ।

भारतीय जनरल अशोक मेहताले नयाँ दिल्लीमा मोदीको सपथग्रहणमा सहभागी भएका पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रष्टसँग भनिदिएका थिए–‘अहिले भारतको सबैभन्दा नजिकको नेपालको नेता भनेकै प्रचण्डजी हो । उहाँ प्रो–ईण्डियन हो । मोदीले पनि प्रचण्डलाई नै विश्वास गर्नुहुन्छ । उहाँहरुबीच सहकार्य हुन्छ ।’

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई भारतले नरुचाउने पनि जिकिर गरे । मेहताले ओलीलाई ‘प्रो–चाईनिज’ को संज्ञा दिए । उनले अब मोदीले ओलीसँग गहिरो सम्बन्ध राख्ने र सहकार्य गर्नसक्ने सम्भावनालाई भने नकारे । नेपाल–भारत सम्बन्ध लहडमा चल्न नसक्ने उनको भनाई थियो । जनरल मेहताजस्तै नेपाल मामिलाका जानकार भाजपाका अरु बरिष्ठ नेताहरुपनि मोदीको प्रचण्डसँग राम्रो सम्बन्ध रहेको बताउन थालेका छन् ।
स्वयम प्रचण्डले पनि आफू र मोदीबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको कुरा धमलासँगको अन्तर्वार्तामा खुलाएका थिए । उनले आफू र मोदीबीच घण्टौ फोनवार्ता हुने गरेको पनि खुलाए । त्यतिमात्रै नभए आफू, मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच पनि सुमधुर सम्बन्ध रहेको सुनाए । हुन पनि गोवामा सम्पन्न भएको फोरममा मोदी–प्रचण्ड–जिनपिङबीच आकस्मिक भएको भेटवार्ताको फोटोले तरंग पैदा गरेको थियो ।
नेपालमा भारत र चीन भन्नेबत्तिकै बेग्लाबेग्लै रुपले हेरिने र राजनीति विभाजित हुने गरेको छ । भारतपरस्त र चीनपरस्त भनेर नेपालका नेताहरुमाथि आरोपनि लाग्ने गरेको छ । तर, प्रचण्डले भारत र चीन दुवैसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम गरेका छन् ।

प्रधानमन्त्री ओली यतिवेला युरोप भ्रमणमा छन् । जेनेभा, फ्रान्स र बेलायत भ्रमणमा निस्किएका ओलीको यो भ्रमणलाई नेपालमा हल्का रुपमा लिईएको छ । कतिपयले त ओलीको भ्रमणलाई ‘प्लेजर ट्रिप’को संज्ञा दिएका छन् । त्यतिमात्रै होईन, भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग पनि ओलीले भ्रमणको क्रममा स्याटेलाइट खरिद सम्झौता गर्ने कार्यक्रम भएको छ ।

तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको उक्त कम्पनीसँग प्रधानमन्त्री ओलीको फ्रान्स भ्रमणक्रममा सम्झौता गर्ने तयारी रहेको र यसबारेमा पनि नेपालमा विवाद सुरु भएको छ ।

यता, भारतीय प्रधानमन्त्री मोदीले नेकपाका अध्यक्ष प्रचण्डलाई ओली युरोपमै रहेको बेला भारत बोलाउन सक्नेपनि आशंका गरिएको छ । उच्च स्रोतकाअनुसार मोदीले प्रचण्डलाई यही महिनाको अन्त्यतिर वा असारको पहिलो साताभित्रै भारत बोलाउन सक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्