उहिले गुठीका लागि जग्गा, गहना, सिक्कालगायत सम्पत्ति दान गर्ने प्रतिष्पर्धा नै चल्थ्यो । युद्ध जितेका राजाले खुशियालीमा मठ, मन्दिर, पाटी पौवा बनाउँथे र तिनको संचालनका लागि गुठी राख्थे । कसैले जात्रा पर्व शुरु गरी संचालनका लागि गुठी राख्थे । राजाले मात्र नभई प्रजाले पनि गुठी राखेर कीर्ति छाड्थे ।
इतिहासमा गर्व गर्न लायक ती दिनहरु अब सपना जस्तै लागे । किराँतकालदेखि राखिएका गुठीहरु शाहकालसम्म जेनतेन रहे । राणाकालसम्म आइपुग्दा गुठीका सम्पत्ति माँस्ने गतिविधि हुन थाल्यो । जति जति नयाँ युग भन्दै राजनीतिक परिवर्तनहरु गरिए उति उति परम्परागत प्रथा र संस्कृति माँस्ने गतिविधि भए ।
गुठीको विगत
नेपालमा गुठी राख्ने प्रथा किरात्काल देखि नै प्रचलनमा रहेको छ । लिच्छवीकालका शक्तिशाली राजा मानदेवले र अंशुवर्मा जस्ता राजाले मठ मन्दिर निर्माण गरी गुठी राखेका थिए । मानदेवले युद्धमा विजय हासिल गरेपछि निर्माण गर्न लगाएको चाँगुनारायण मन्दिर संचालनका लागि गुठी राखेका थिए । अंशुवर्माले पनि धेरै गुठी स्थापना गर्न लगाए । लिच्छिकालमा राखिएको गुठीमध्ये श्री सिंहसार्थ भगवान गुठी पनि हो । विवादास्पद छायाँ सेन्टरका कारण जुन अहिले चर्चामा छ ।
मल्ल राजाहरुका पालामा धेरै गुठी स्थापना गरिए । गुठी विस्तारमा मल्लकाल स्वर्णी मानिन्छ । नेपालको इतिहासमा सबैभन्दा बढी सांस्कृतिक धरोहर निर्माण गर्नेमा मल्ल राजाहरु थिए । सबैभन्दा धेरै जात्रा पर्व पनि मल्लकालमा शुरु गरिए । सांस्कृतिक धरोहर, जात्रा पर्व संचालनका लागि मल्ल राजाहरुले गुठी राखेका थिए । उनीहरुको सिको गरी जनताले पनि गुठी राखेको देखिन्छ ।
गुठीको सम्पत्ति लु्ट
गुठी प्रथा समाजवादको उत्कृष्ट नमूना हो । सर्वसाधारणको हितका लागि सम्पत्ति रहने प्रथालाई लुट्ने चलखेल राणा शासनबाट नै शुरु भयो । राणाहरुले गुठीका जग्गाहरुमाथि अधिकार जमाएर महल ठड्याए ।
राणा शासनको अन्तपछि गुठीमाथि योजनावद्ध तरिकाले आक्रमण शुरु भयो । गुठी भन्नेवित्तिकै भूमिको बाकस हो भन्ने भ्रम सृजना गरियो । पटक पटक ऐन बनाएर गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउने चलखेल भयो ।
गुठीका जग्गाहरु महत्वपूर्ण ठाउँमा रहेको पाएपछि भूमाफियाले रैकर गर्ने कानुन बनाउन लगाए । यो सबै रणनीतिक तरिकाले चलाइएको थियो । सर्वसाधारणको आँखामा धुलो छ्यापेर चालिएको चालका कारण गुठीका जग्गाहरु व्यक्तिको नाममा पु¥याएर व्यापारिक कम्प्लेक्स र संभ्रान्तका महल बने । व्यक्ति विशेष धनी भए सर्वसाधारणको साझा सम्पत्ति लुटियो ।
धर्म संस्कृतिमाथि आक्रमण
गुठी भन्नेवित्तिकै व्यक्ति हावी हुनै सक्दैन । तर, परिवर्तनका नाममा व्यक्तिलाई सर्वेसर्वा बनाउने चलखेल भइरहे । राजा महेन्द्रका पालामा गुठी संस्थान ऐन, २०२१ ल्याइयो । २०२९ सालको गुठी संस्थान ऐनले मोहियानी हक स्थापना ग¥यो । गुठीको जग्गा भोगचलन गर्नेहरुलाई मालिक बनाउने मार्ग खुल्न थाल्यो ।
२०४१ मा गुठी सम्बन्धी ऐन संशोधन भई मोही लागेको जग्गा रैकर सरह गराउन मूल्य तोकियो । गुठी संस्थान विनियम, २०४९ बनाएर गुठीका जग्गा रैकर बनाउने क्रम शुरु भयो । गुठीबाट संचालिन मठ, मन्दिर, जात्रा, पर्वलगायत परम्परागत धर्म संस्कृतिमाथि आक्रमणको शुरुवात थियो त्यो ।
झट्ट हेर्दा जोत्ने नै मालिक भए जस्तो लाग्यो । तर, संस्कृतिहरु ध्वस्त हुनथाले । गुठीका सम्पत्ति व्यक्तिको भए । देशभर चलेका विभिन्न पर्व र प्रथा गुठीको आयआस्ताबाट संचालित हुन्थे । आयआस्ताको स्रोत नै बन्द भएपछि पर्व र जात्राहरु धरमराए । मन्दिरहरु बनाउन नसक्ने, संचालन गर्न नसक्ने गरी गुठीलाई ध्वस्त पारिने क्रम अझै रोकिएको छैन ।
जग्गा जोगाउने र सुधार गर्ने नाममा हरेकपल्ट बदलिने कानुनले गुठीको जग्गा जोगाएको छैन । व्यक्ति विशेषको हातमा पु¥याएको छ । १४ लाख रोपनी जग्गा भएको गुठी संस्थानसँग अहिले तीन लाख रोपनी जग्गा पनि छैन । त्यसको पनि यकिन गर्न सक्दैन संस्थान । तीन अर्ब पैसा जम्मा गरेको छ संस्थानले । त्यो पनि रैकर गरी प्राप्त रकम ।
तीन अर्ब रुपैयाँले काठमाडौंको कुनै कुनामा पनि तीन सय रोपनी जग्गा खरिद गर्न सकिने अवस्था छैन । तर, तीन अर्ब रकम लाखौं रोपनी जग्गा रैकर गरेर जम्मा भएको हो ।