Logo

सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् : प्रदिप पौडेल



जेठ ३१, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले राष्ट्रिय जागरण अभियानले संगठन गतिशिल बनाउन महत्वपूर्ण भूमिका खेलेको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले अभियानले गाउँ गाउँमा कार्यकर्तामाझ उत्साह जगाएको दाबी गरेका हुन् ।

तर यतिले मात्रै कांग्रेसको संगठन बलियो बनाउन पर्याप्त नहुदे भन्दै पौडेलले हाँत बाँधेर बस्न नहुने बताए । “सन्तुष्ट भएर अब केही नगरी बस्नु हुँदैन । अभियाले दिएको उपलब्धिलाई बचाउँदै थप उपलब्धिका लागि मिहिनेत गर्नुपर्ने हुन्छ । संगठनलाई केही हदसम्म चलायमान बनाएका छौँ । यही गतिमा अगाडि बढ्नुपर्छ ।” पौडेलले भने ।

पार्टी गुटबन्दीको सिकार भएको स्विकार गर्दै नेता पौडेलले कुनै पनि पार्टी गुटरहित हुन नसक्ने बताए । तर गुटगट स्वार्थले पार्टी नै कमजोर बनाउन नहुनेमा पौडेलले जोड दिए ।

“गुट निर्माणको पद्धतिलाई बदल्न जरुरी छ । यथार्थको धरातलमा उभिएर अगाडि बढ्नुपर्छ । पार्टीलाई प्रभावकारी बनाउनका लागि आवश्यकताअनुसार सबै सच्चिनुपर्छ ।” पौडेलले भने ।

कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने क्रममा परिणामुखी हुनपर्ने पौडेलले बताए । अहिले पनि प्रतिपक्षको भूमिका कमजोर नभएको तर जुनसुकै विषय उठान गर्दा पनि त्यसलाई नतिजामुखी बनाउनुपर्ने बताए ।

“अपेक्षाअनुसार काम गर्न सकेका छैनौँ, यो कुरालाई हामी स्वीकार गर्छौँ । पार्टीभित्र पनि संसदमा रणनीति हिसाबले प्रस्तुत हुनका लागि छलफल गर्नुपर्छ । सरकारले गरेको ज्यादती र एकाधिकारको विषयमा जनतामाझ पनि जानुपर्यो । आवश्यकताअनुसार संसद अवरुद्ध गर्नेदेखि सडक आन्दोलनसम्म जान सक्नुपर्छ ।” पौडेलले भने ।

सरकारलाई सच्याउने जिम्मेवारी नै कांग्रेसको भएको पौडेलको तर्क छ । सरकारले विधेयकहरुलाई जबरजस्ती ढंगले लैजान खोज्यो भने कांग्रेसले जोडदार ढंगले सडक आन्दोलन गर्ने चेतावनी पौडेलले दिए । उनले भने–“त्यसबेला सरकार नै बदलिन पनि सक्छ । हामी गणितका आधारमा सरकार ढाल्न सक्दैनौँ, तर मौलिक अधिकार खोस्ने, स्वतन्त्रता हनन गर्ने, संविधानभन्दा ठूलो हामी हौँ भन्ने मनोविज्ञानले अगाडि बढिरह्यो भने त जनताले टुलुटुल हेरेर बस्दैनन् ।”

अहिले विवादमा रहेको गुठी विधेयक संस्कृति र मौलिकता विरोधी भएकाले फिर्ता लिनुपर्ने पौडेलले बताए । त्यसैगरी मिडिया काउन्सिल विधेयक पनि प्रेस स्वतन्त्रता विरोधी भएकाले फिर्ता लिनुपर्ने पौडेलले बताए ।

सरकारले समयमै सचेत भएर कमी कमजोरी सच्याउनुको विकल्प नभएको पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्