काठमाडौं । कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अहिले त्यस्तै व्यवहार देखाएका छन् । गफ गर्ने तर काम नगर्ने बानी परेका खरेलले निगमको नेतृत्व सम्हालेदेखि नै विवादस्पद काम र निर्णय गर्दै आएका छन् । खरेलको लापरवाहीले राष्ट्रिय ध्वजावाहक निगम चरम संकटमा परेको छ ।
वाईडबडी जहाज थन्किएको धेरै भयो । व्यवसायिक उडान भर्नु त परै जाओस । उडानको लागि मिति र विदेशी गन्तव्य नै तय भएको जापानको ओशाका उडान एकाएक स्थगित् भएको छ । जापानले उडान अनुमति दिइसकेपनि आफैं ओसाका उडान शुरू गर्न नसकेको निगमका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल जापान भ्रमणमा छन् ।
खरेल र दाहाल जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई आफैंले निमन्त्रणा पठाउन लगाएर टोकियो पुगेको तथ्य पनि बाहिरिएको छ। थाई एयरवेजबाट मंगलवार टोकियो पुगेका खरेल र दाहाल आइतवार स्वदेश फर्किनुअघिको खर्च ५० लाख नाघ्ने दाबी स्रोतको छ ।
खरेलले जापान बसाईको क्रममा आफू नेपालीहरुलाई भेट्न आएको भनेर समेत बोलेको भिडियो बाहिरिएको छ । खरेलले आफ्नो जापान भ्रमणलाई विलाषीतामा परिणत गरेका छन् । अध्यक्ष खरेलको महत्वकांक्षा र फाईदा हेर्ने कु–दृष्टिले नेपाल एयरलाइन्सका लागि जापानी आकाश सधैंका लागि बन्द हुने खतरा अघि आएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जापानको ओशाका उड्न पाएको अनुमतिको सदुपयोग गर्न नसक्ने अध्यक्ष खरेल निकम्मा नै सावित हुनेछन् ।