बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस जोन्सन प्रबल दाबेदार देखिएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीको नेता बन्नका लागि भएको चुनावमा जोन्सन बलिया देखिएका छन् । उनले अन्तिम चरणको प्रतिष्पर्धामा स्थान पक्का गर्दा आधाभन्दा बढी सांसदको समर्थन पाएका थिए ।
अब जोन्सन र विदेशमन्त्री जेरमी हन्टबीच अन्तिम प्रतिष्पर्धा हुँदैछ । हन्टले बोरिसलाई पराजित गर्न विभिन्न चरणमा भएको कन्जरभेटिभ पार्टीको चुनावमा पराजित उम्मेदवारहरुको समर्थन पाएर मात्र पुग्दैन ।
जोन्सनका प्रतिष्पर्धीले पनि अग्रिम बधाई दिइसकेका छन् । गन्जरभेटिभ पार्टीको नेता बनेर जोन्सन प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएको प्रतिक्रिया प्रतिष्पर्धाबाट बाहिरिएका वातावरणमन्त्री माइकल गोभले दिइसकेका छन् । तर, राजनीतिमा जे पनि हुनसक्ने भन्दै गोभले जुलाई महिना कुनुपर्ने बताए ।
बेलायतको संसदमा कन्जरभेटिभ पार्टी सबैभन्दा बढी सांसद संख्या रहेको छ । सरकार बनाउन आवश्यक सिट अन्य दल र स्वतन्त्र सांसदको समर्थनबाट पाएकाले कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री हुने अवस्था छ ।
टेरेसा मेको राजीनामासँगै नयाँ नेताका लागि चुनाव भइरहेको छ । कन्जरभेटिभ पार्टीका नेता बेलायतको प्रधानमन्त्री हुने अवस्थाका कारण यो चुनाव बेलायतको भावी प्रधानमन्त्रीको चुनाव पनि बनेको हो ।