Logo

काठमाण्डौमा १२ सय सिसीका ट्याक्सी मात्रै



असार २६, काठमाण्डौ । काठमाडौंमा संचालित ट्याक्सीलाई व्यवस्थित र सुविधाजनक बनाउन सरकारले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । सरकारले पुराना ट्याक्सी विस्थापन गर्दै लैजाने र न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउने मापदण्ड ल्याउने तयारी गरेको हो ।

ट्याक्सीले दिने सेवाबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ । खासगरी भनेको ठाउँमा जान नमान्ने, रातीमा हिडेनु परेमा यात्रुसंग बढी रकम असुल्ने र यात्रुलाई ठग्ने जस्ता गुनासो बढी सुनिने गरेको छ । ट्याक्सीप्रति चौतर्फी गुनासो आएपछि सरकारले ट्याक्सीमा नयाँ मापदण्ड ल्याउने तयारी गरेको यातायात व्यवस्था विभागका निर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

सरकारले यहीबेला ८ सय सीसीका ट्याक्सी दर्तामा रोक समेत लगाएको दाहालले बताए । दाहालका अनुसार अहिले सञ्चालनमा रहेका ट्याक्सीमा अनिवार्य रुपमा विदेशमा जस्तै स्मार्ट प्रविधि जडान गर्नुपर्ने छ । यस्तै, यात्रु चढेर जाने ठाउँसम्मक कति भाडा लाग्छ भन्ने पनि रुट सिष्टमले देखाउने भएकाले त्यसको पनि व्यवस्था हुनेछ । यसबाट यात्रु ठगिने गुनासो कम हुने विभागको दाबी छ ।

सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार ९ सय ट्याक्सी दर्ता भएर सञ्चालनमा छन् । विभागका अनुसार एउटा ट्याक्सीको नम्बर प्लेटका लागि २३ लाखसम्म तिर्नुपर्ने बाध्यता छ । सरकारले विभिन्न मापदण्ड र नियमहरु ल्याउने गरेपनि भाडा दरमा भने सरकारले अझैपनि कार्यान्वयनमा ल्याउन सकेको छैन् ।

विभागले अहिले ट्याक्सीको नयाँ दर्ता रोकेर सिन्डिकेटलाई बढावा दिएको आरोप लाग्दै आएको छ । विभागका निर्देशक दाहालले नयाँ मापदण्ड लागू भएसँगै ट्याक्सीको नयाँ दर्ता प्रक्रिया अघि बढ्ने बताए । ‘ट्याक्सीको नयाँ मापदण्ड लागू भएसँगै नयाँ ट्याक्सीको दर्ता खोल्ने तयारी गरेका छौं,’ उनले भने, ‘नयाँ मापदण्ड ल्याएर ट्याक्सीलाई व्यवस्थित गर्नेछौं ।’

काठमाडौं उपत्यका लगायत देशभर पुराना ट्याक्सीको बाहुल्य छ । यी ट्याक्शीमा यात्रा गर्न सहज र सुरक्षित छैन । सरकारले हालै प्रस्ताव गरेको नयाँ मापदण्ड आएपछि ट्याक्सीमा कायम रहेको कोटा प्रथा अन्त्य हुने र ट्याक्सी सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

अहिले उपत्यकामा गुड्ने करिब ९ हजार ट्याक्सीमध्ये अझै पनि अधिकांशले मिटरमा गुड्न नमानेर यात्रु ठगिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्