Logo

लोकसेवा आयोग संघीय सरकारको एजेन्ट भयो : मुख्यमन्त्री राउत



असार ७, काठमाण्डौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगले निकालेको कर्मचारी पूर्तिसम्बन्धी विज्ञापन असंवैधानिक भएको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले बलमिच्याँई गरेर संघ सरकारले काुनन उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।

लोक सेवा आयोगले पनि संघीय सरकारको एजेन्ट बनेर कानुनविपरितको काम गरेको राउतले आरोप लगाए । संवैधानिक निकायको रुपमा रहेको लोक सेवा आयोगले आफ्नो गरिमा बचाउँन नसकेको राउतको तर्क छ ।

आयोगले प्रदेश सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेर विज्ञापन निकालेर ठूलो गल्ती गरेको राउतले बताए । संघ सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संवैधानिक निकायलाई गलत बाटोमा जान प्रेरित गरेको राउतको आरोप छ ।

संविधानभन्दा माथि कोही पनि मन्त्री नहुने भन्दै उनले प्रधानमन्त्री केपी ओलीले पनि ऐन कानुनको परिधिभित्र रहेर काम गर्नुपर्ने बताए ।

प्रदेश दुईको सरकारले लोक सेवा आयोग गठन प्रक्रिया अन्तिम चरणमा पुर्याएको पनि राउतले बताए । त्यसैगरी राउतले संविधान बमोजिम प्रदेश सरकारले ऐन कानुन बनाउन खोज्दा कसैले रोक्न नसक्ने बताएका छन् ।

राउतले दर्जनौँ ऐन कानुन निर्माण अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । मुख्यमन्त्री राउतले प्रदेशसभाको दुई तिहाई बहुमतले नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएकाले आफूले केही भन्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्