समाजवादी पार्टी, नेपालका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको विरुद्धमा कडा अभिव्यक्ति दिएका छन् । भट्टराईले बिपीलाई अब राप्रपाले अपहरण गरेछ भन्दै व्यंग्य कसेका छन् ।
उनले आफ्नो ट्वीटमा भनेका छन्,‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं ।’
पछिल्लो समय बाबुराममाथि कांग्रेसका युवा नेता गगन कुमार थापाले कडा आलोचना गरेका थिए । त्यसको लगत्तै बाबुरामले ट्वीटमार्फत नै थापालाई जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘कांग्रेसका साथीहरुले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला, गोरखा र रसुवामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच तालमेल भएको हो । गोरखा–२ मा नयाँ शक्ति र रसुवामा नेपाली कांग्रेसले जितेको हो । नयाँ शक्तिको समर्थन विना नेपाली कांग्रेसले रसुवामा जित्ने थिएन भन्ने चाहीँ किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’