काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकारले देशमा गणतन्त्र र संविधान उल्टाउने खेलमा विदेशी शक्तिहरु सक्रिय भइरहको खुलासा गरेका छन् । फेसबुक पेजमार्फत् उनले वर्तमान व्यवस्था उल्टाउन देशभित्र र बाहिरका शक्तिहरु सक्रिय भएको उल्लेख गरेका छन् ।
व्यवस्था र संविधान उल्टाउने उद्देश्यले सरकारविरुद्ध क्रियाकलाप भइहेको भट्टराईले लेखेका छन् । मुलुकमा अस्थिरता र अन्यौलता सृजना गर्न केही व्यक्ति र शक्तिलाई एक ठाउँमा ल्याउन भित्र र बाहिरका शक्ति लागिपरेको आरोप समेत लगाएका छन् । उनले लेखेका छन्, बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविान उल्टाउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने ।
यसका लागि कुन कुन व्यक्ति र शक्तिहरुलाई एक ठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्यौलना सृजना गर्न सकिन्छ त्यो गर्ने । यसका लागि भित्र र बाहिरका केही शक्तिहरु सक्रिय हुँदै गरेको अवस्था । अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुस्प्रयास । समयमै सचेत भई जनमतको कदर गर्दै जन अपेक्षा पूरा गर्न तर्फ केन्द्रित होऔं ।
भारतमा सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता समेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमा हिन्दु अधिराज्य हुनुपर्छ भनेको केही दिनमै प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकारको भनाई सार्वजनिक भएको हो । देशभित्र धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध विभिन्न शक्तिहरु एकजुट हुँदै गएका छन् । यसलाई प्रधानमन्त्री ओली र उनका निकटस्थहरुले गम्भीरताका साथ लिएको बुझिएको छ ।