भारतमा नयाँ गुप्तचर प्रमुखहरु नियुक्त भएका छन् । बुधबार रिसर्च एण्ड एनालिसिस विङ (रअ) प्रमुखमा समन्त गोयल र इन्टेलिजेन्स ब्युरो (आइबी) मा अरविन्द कुमार नियुक्त भएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार वरिष्ठ आइपीएस अफिसर अरबिन्द कुमारलाई बुधबार आइबी प्रमुखमा नियुक्त गरिएको छ । १४ असारमा वर्तमान आइबी प्रमुख रवि जैन सेवानिवृत्त हुनेभएपछि कुमारलाई नियुक्ति दिइएको हो ।
रअ प्रमुखमा समन्त गोयलले अनिल दशमानाको स्थान लिनेछन् । दशमाना पनि १४ असारबाट सेवानिवृत्त हुँदैछन् । आइबी र रअको प्रमुख नियुक्ति भारतभित्र मात्र नभई बाहिर समेत चासोको विषय बन्ने गरेको छ । रअ विश्वकै चर्चित गुप्तचर निकायमा पर्दछ ।