काठमाडौं, १२ असार । २०७५ सालमा लिइएको एसईई परीक्षाको बिहिबार सार्वजनिक नतिजामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थीमध्ये ३.३८ प्रतिशत अर्थात् १६ हजार ८२ परीक्षार्थीले ए प्लस ल्याएका छन् । जसमध्ये ५९.६६ प्रतिशत अर्थात् नौ हजार पाँच सय ९६ छात्र र ४०.३४ प्रतिशत अर्थात् सात हजार दुई सय ८६ छात्रा छन् ।
अनुपातका दृष्टिले ए प्लस ल्याउने छात्राको संख्या अन्य जीपीए ल्याउने छात्राको भन्दा कम छ । परिक्षाफल अनुसार छात्राले छात्रको भन्दा कमजोर नतिजा ल्याएका छन् ।
१०.३० प्रतिशत अर्थात् ४८ हजार नौ सय ६० ले ए जीपीए ल्याएका छन् । जसमध्ये छात्र ५५.७१ प्रतिशत अर्थात् २७ हजार दुई सय ७९ र छात्रा ४४.२९ अर्थात् २१ हजार छ सय ८१ छन् ।
बी प्लस ल्याउनेको संख्या ६० हजार सात सय ६ छन् । जुन कुल परीक्षार्थीको १२.७८ प्रतिशत हुनआउँछ । जसमध्ये ३४ हजार एक सय ६६ छात्र र २६ हजार पाँच सय ४० छात्रा छन् ।
कुल परीक्षार्थीमध्ये ७४ हजार एक सय १० अर्थात् १५.६० ले बी ल्याए । जसमध्ये ५२.७५ प्रतिशत अर्थात् ३९ हजार ९५ छात्र र ४७.२५ प्रतिशत अर्थात् ३५ हजार ५० छात्रा छन् ।
सी प्लस ल्याउनेको संख्या ९७ हजार दुई सय ९९ छ । जुन कुल परीक्षार्थीको २०.४८ प्रतिशत हो । सी प्लस ल्याउनेमध्ये ४७ प्रतिशत अर्थात् ४५ हजार सात सय ८९ छात्र र ५३ प्रतिशत अर्थात् ५१ हजार पाँच सय १० छात्रा छन् । २०.०४ प्रतिशत अर्थात् ९५ हजार दुई सय नौ ले सी ल्याएकामा ४५ प्रशिशत अर्थात् ४२ हजार आठ सय ८० छात्र र ५५ प्रतिशत ५३ हजार तीन सय ३६ छात्रा छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम