Logo

राष्ट्रिय धान दिवस देशभर मनाइने



काठमाडौं, १४ असार । राष्ट्रिय धान दिवस आइतबार मनाइने भएको छ । देशभर धान रोपेर र विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइने भएको हो ।

प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको १६ वर्ष पुग्दैछ । नेपाली समाजमा असार १५ लाई मध्य रोपाईको मौसम मानेर दही चिउरा खाने चलन छ । संस्कृतिलाई संरक्षण गर्न राष्ट्रिय स्तरमा धान दिवस मनाउन थालिएको हो ।

पछिल्लो समय धान दिवस विद्यालय र कलेज तहमा समेत मनाइन्छ । विद्यालयहरुले विद्यार्थीहरुलाई रोपाईंमा सहभागी गराएर मनाउने गर्छन् ।

धान नेपालको प्रमुख बाली हो । यसले राज्यको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

नेपालमा ८० भन्दा बढी प्रकारका धानका प्रजातिको विकास गरिएको छ । कृषि अनुसन्धान परिषदले स्थानीय र वर्णशंकर दुवै प्रजातिका धानका बीऊ उत्पादन गरेको छ । मनाङ र मुस्ताङबाहेकका ७५ जिल्लामा धान खेती हुन्छ ।

यस वर्ष मनसुन ढिला हुँदा अधिाकंश स्थानमा धान रोपाईं हुनसकेको छैन । रोपाईं हुननसक्दा कृषकहरु चिन्तित छन् । मलको अभावले कृषकहरुलाई थप समस्या परेको छ ।



प्रतिक्रिया दिनुहोस्