काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृ तथा चर्चित अभिनेत्री करिश्मा मानन्धरबीच अहिले सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलिरहेको छ ।
करिश्माले बाबुरामले आफूलाई चुनावमा उपयोग गरेको आरोप लगाएकी थिईन् । फोरमसँग गरेको एकतामा करिश्मा सहभागी भईनन् । पार्टी एकता हुनुपुर्व नै बाबुराम र करिश्माबीच सम्बन्ध खासै राम्रो नभएको बुझिएको थियो ।
अहिले सामाजिक सञ्जालमा नै आरोप–प्रत्यारोप चलेपछि उनीहरुको विवाद सतहमा आएको हो । बाबुरामले करिश्माले पार्टी छोडेको घोषणा गरेपछि धन्याद दिएका छन् । डा.भट्टराईले फेसबुकमा लेखेका छन्,‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्री फेरिइरहन सक्छन् ! जोसंग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ, कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान, कोही हजार किलो मिटर सहयात्रा गर्लान, कोही अन्तिम गन्तव्यसम्म सहयात्रा गर्लान, सहयात्रा स्वेच्छाले गर्ने हो, हामी धेरै भन्दा धेरैसंग अन्तिम गन्तव्यसम्म सहयात्रा गर्न चाहन्छौं! जसले जति दूरीसम्म सहयात्रा गर्छस त्यतिसम्मका लागि हामी सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छौं!’