Logo

आइफा अवार्ड : भावनामा बगेर नगुमोस् स्वर्णिम अवसर



दीपेश केसी : बलिउडका पुराना नायक देवानन्दले भारतीय मिडियामा अन्तवार्ताका क्रममा फिल्म स्क्रिप्ट लेख्न पोखरा जाने गरेको खुलासा गरे । पोखराको सुन्दरता र आनन्द मौसमको वर्णन गरे । भारतीय मिडियामा उनले धेरै अघि पोखराका बारेमा बोलेपछि निकै प्रचार भयो ।

रसिक राजा महेन्द्र विद्धान र कलाकारसँग सम्बन्ध गाँस्थे । पाकिस्तानी गायक गुलाम अलीले भनेका छन्, ‘म गीत गाउँथे राजा महेन्द्र तबला बजाउँथे ।’ अली नेपालको सुन्दरताबाट प्रभावित थिए । लोकप्रीय अलीबाट नेपालको सुन्दरताको वर्णन हुनु सामान्य विषय थिएन । देवानन्दसँग पनि महेन्द्रको गहिरो मित्रता थियो ।

नेपालमै फिल्म सुटिङ गरेका देवानन्दका कारण भक्तपुरको दरबारले भारतभित्र र बाहिर ठूलो प्रचार पायो । १९७१ मा रिलिज भएको सुपरहिट फिल्म हरे कृष्ण हरे राम नेपालमा सुटिङ गरिंदा सांस्कृतिक धरोहरलाई क्यामरामा कैद गरिएको थियो । फिल्मका माध्यमले नेपालको सुन्दरता देखि संस्कृतिलाई भारतभित्र र बाहिर प्रचार गराउन देवानन्दले निकै ठूलो योगदान गरे ।

गोविन्दा बारम्बार नेपाल आइरहन्छन् । उनले पशुपतिनाथको दर्शन गरेको खबर भारतीय अखबारमा आउँछ । कुनैपनि शुभ कार्य गर्दा पशुपतिनाथको आशिर्वाद लिन आउने गरेको सुनाउने गरेका छन् गोविन्दाले । भारतीयहरुमा पशुपतिनाथप्रति श्रद्धा झन् बढ्नुमा गोविन्दा जस्तै कलाकार पनि कारण बन्ने गरेका छन् ।

कला र साहित्यसँग जोडिदा कुनैपनि समाज वा देशको प्रचारप्रसार पनि हुन्छ । बलिउडका एक दुई कलाकारले गर्दा मात्र पनि नेपालको संस्कृति र सुन्दरताको प्रचारप्रसार भएको छ । विश्वकै दोस्रो ठूलो फिल्म उद्योगसँग सम्बन्धित विशेष कार्यक्रम नेपालमा आयोजना हुँदा के होला ? यसले नेपालको कत्तिसम्म प्रचारप्रसार होला ? यसमा हुने खर्चले हामीलाई गतिलो परिणाम देला कि नदेला ? यसमा ध्यान दिन जरुरी छ । भावनामा बगेर सिधै विरोधमा उत्रने कि विवेक पुर्याएर अगाडि बढ्ने ?

अहिले आइफा अवार्डको विषयले बजार तात्तिएको छ । सरकार समेत मुछिएको अवार्ड आयोजना र लगानीको विषयबारे धेरै भ्रमहरु छरिएका छन् । भ्रमहरुले हामीमाथि यसरी नै शासन गरिरहँदा हामीले धेरै गुमाउनेछौं । हाम्रा नागरिक भारतको टेलिभिजन कार्यक्रमको प्रतिष्पर्धामा सहभागी हुँदा टेलिभिजनमा समय खर्चन्छौं । भारतीय कार्यक्रम कुरेर हेर्छौं । तर, बलिउडकै ठूलो अवार्ड नेपाल आउँदा लुट्नै आउँदैछन् जसरी भ्रम छर्नेहरुबाट सचेत भइरहेका छैनौं ।

नेपालले के पाउँछ के गुमाउँछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको धार्मिक भ्रमण गरेपछि नेपालमा भारतीय पर्यटकको ओइरो लाग्यो । मुक्तिनाथमा पर्यटकको घुइँचोका कारण ट्राफिक जाम भयो । जनकपुरधाममा भारतीय पर्यटक ह्वात्तै बढे । मोदी कसैलाई मन पर्ला नपर्ला तर मोदीको नेपाल आगमनले नेपाललाई पर्यटकीय दृष्टिले धेरै फाइदा पुगेको जगजाहेर छ ।

अहिले नेपालका लागि अर्को स्वर्णिम अवसर आउँदैछ । आइफा अर्थात् इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्डस् भाद्रको दोस्रो हप्ता नेपालमा हुने तय भएको छ । अवार्डमा भाग लिन बलिउडका हस्तीहरु आउनेछन् । विश्वस्त स्रोतका अनुसार अमिताभ बच्चन धेरैपछि नेपाल आउने सम्भावना छ । बलिउडका हस्तीहरुको नेपाल आगमन हुँदा सँसारको दोस्रो ठूलो फिल्म उद्योगका उत्पादनहरु हेर्ने विश्वको एक चौथाई जनसंख्यालाई नेपालबारे जानकारी हुन्छ । यो नेपालका लागि स्वर्णिम अवसर हो ।

अवार्डका लागि नेपाललाई आयोजनाको स्थान बनाउन पर्यटन बोर्डले निकै कसरत गर्नुपरेको छ । केही करोड रुपैयाँ लगानी गर्दैमा यस्ता लोकप्रीय कार्यक्रमहरुको आयोजना स्थल बनाउन सजिलो छैन । आयोजना स्थल बन्न अन्य देशका शहरहरु पनि प्रतिष्पर्धामा थिए । तर, निकै मिहेनतले नेपालले अवसर पाएको हो ।

के हो आइफा

आइफा अर्थात् इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्डस् हरेक वर्ष बलिउडका उत्कृष्ट कलाकार र प्राविधिकहरुलाई दिइदै आएको अवार्ड हो । सन् २००० देखि प्रत्येक वर्ष आयोजना हुने अवार्ड भारतभित्र र बाहिर समेत आयोजना हुनेगरेको छ ।

अवार्ड पहिलोपटक बेलायतको राजधानी लण्डनमा आयोजना गरी दिइयो । अवार्ड दिंदा उत्सवकै रुपमा मनाउने गरिएको छ । तीन दिनसम्म मनाइने उत्सवमा भारतीय फिल्म उद्योगसँग सम्बन्धित कार्यक्रमहरु आयोजना हुनेछन् ।

अवार्ड कार्यक्रमहरु दक्षिण अफ्रिकाको जोहन्नेसवर्ग र सन सिटी, मलेशियाको गेन्टिङ हाइल्याण्ड र क्वालालाम्पुर, सिंगापुर, नेदरल्याण्डको एम्सटरडम, युएईको दुबई, बेलायतको लण्डन र सेफिल्ड, थाइल्याण्डको बैंकक, मकाउ, श्रीलंकाको कोलम्बो, क्यानडाको टोरन्टो, संयुक्त राज्य अमेरिकाको टाम्पा र न्यु जर्सी र स्पेनको म्याड्रिडमा आयोजना भइसकेको छ ।

पर्यटकीय महत्वका स्थानहरुमा आइफा अवार्ड भएको छ । बलिउडका लोकप्रीय कलाकारहरु सहभागी हुने भएकाले यसको महत्व छ । विश्वकै दोस्रो ठूलो फिल्मी उद्योग र सबैभन्दा बढी फिल्म उत्पादन हुने बलिउडका कलाकारहरु नेपाल आउनु नेपालका लागि प्रचारप्रसारका दृष्टिले उत्तम अवसर हो ।

लगानी सही कि बेठिक

लगानी नगरी लाभ लिन सकिदैन । आइफा अवार्डमा नेपालले एक अर्ब लगानी गर्दैछ भन्ने विषय आइरहेको छ । सरकारले एक रुपैयाँ लगानी गर्न लागेको छैन भनी सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाई सार्वजनिक भइसकेको छ ।

आइफा अवार्डका लागि काठमाडौं महानगरपालिका र पर्यटन बोर्डले लगानी गर्दैछन् । उनीहरुले पनि यो रकम प्रयोजनबाट प्राप्त गर्ने तयारी गरिरहेका छन् । बाँकी रकम नेपालका उद्योग व्यवसायसँग सम्बन्धित संघसंस्था र उद्योग व्यवसायले प्रायोजनबाट जम्मा हुँदैछ । यसलाई पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले आइतबार पत्रकार सम्मेलन गरी प्रष्ट पारेका छन् ।

आइफा अवार्डमा नेपालभित्रबाट लगानी हु्नेमा कुनै भ्रम छैन । नेपालका उद्योग व्यवसायले प्रयोजनवापत् रकम दिनु नेपालकै रकम हो । काठमाडौं महानगरपालिका देखि पर्यटन बोर्ड समेतले सहआयोजक र नेतृत्व लिएर गर्ने लगानी पनि नेपालकै पैसा हो । समग्रमा आइफामा नेपालले नै लगानी गर्दैछ ।

केही नपाउने भए कसैले लगानी गर्दैन र गर्नु पनि हुँदैन । आइफा अवार्डका लागि आउने छ सय पाहुनाको बसाईं र भ्रमणवापत्को रकम नेपालमै रहन्छ । विश्व चर्चित कलाकारहरु एकैसाथ नेपाल आइपुग्नु महत्वपूर्ण क्षण हो ।

आइफा अवार्डले नेपालको व्यापक प्रचारप्रसार हुनेछ । अहिले बलिउड विश्वकै दोस्रो ठूलो फिल्म उद्योग हो । उसको व्यापार विश्वभर फैलिइसकेको छ । अफ्रिकाको शहर देखि पूर्वी सोभियत संघका राज्यहरुसम्म बलिउडको बजार छ । मध्यपूर्वमा बलिउडको फिल्म निकै चल्छ । ती देशहरुका दर्शकले आइफा अवार्ड हेर्नेछन् । नेपालमा आयोजना हुने भएकाले नेपालको प्रचारप्रसार व्यापक हुनेछ ।

नेपाल भ्रमण वर्षका लागि आइफा अवार्ड सहयोगी बन्नेछ । अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय च्यानलहरुमा नेपाल पर्यटन बोर्डले प्रचारप्रसारका लागि करोडौं रकम खर्चिइरहेको छ । आइफा अवार्डको आयोजनाको नेतृत्व लिएको पर्यटन बोर्डका लागि देशको प्रचारप्रसारको मौका हो ।

अवार्ड आयोजना गर्दा नेपालबाट झण्डै एक अर्ब लगानी हुनेछ । लगानी काठमाडौं महानगरपालिका, पर्यटन बोर्डका अलावा उद्योगी व्यवसायीले प्रायोजनवापत् जुटाउँदैछन् । महानगरपालिका सहआयोजक हो भने पर्यटन बोर्ड आयोजनाको नेतृत्वकर्ता । एक हिसाबले सबै प्रायोजक नै हुन् । सबैले प्रचार प्रसार र अन्तर्राष्ट्रियरुपमा प्रचार प्रसार हुने हेतुले खर्च गर्न लागेका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आइफा अवार्डले पर्यटन विकासमा टेवा पुग्ने पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले बताइसकेका छन् । उनले यसलाई प्रचारप्रसारको उत्तम अवसर बनाउन खोजेका छन् । अवार्ड आयोजनास्थल नेपाललाई बनाउन कति मिहेनत गर्नुपर्यो जोशीलाई थाहा होला । यस्ता कार्यक्रम सजिलै ल्याउन सकिने पनि होइन ।

पर्यटकीय शहरहरुले आयोजनास्थल आफूलाई बनाउन ठूलो धनराशी गर्दै आएका छन् । बलिउड जहाँ पुग्छ त्यो स्थानले प्रचार पाउँछ । प्रचारले पर्यटन उद्योगमा सकारात्मक असर पर्छ । देशलाई अझ सँसारभर चिनाउने माध्यमका रुपमा आइफा अवार्डको आयोजनालाई बेलैमा बुझ्नुपर्छ । खर्चको पारदर्शिता आवश्यक छ तर सही काममा खर्च नगर्ने भन्ने हुनुहुँदैन ।



प्रतिक्रिया दिनुहोस्