Logo

गोविन्दराज जोशीलाई कारबाहीको माग गर्दै तनहुँ कांग्रेस सानेपामा



असार १८, काठमाण्डौ । तनहुँ जिल्लामा नेपाली कांग्रेसको विवाद बल्झिदै गएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता गोविन्दराज जोशीको टकरावले जिल्लामा कांग्रेस कमजोर हुँदै गएको छ ।

प्रतिनिधिसभा चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेलले टिकट पाएपछि जोशी खुलेरै विरोधमा लागे । त्यति मात्रै होइन, जोशीले पौडेलविरुद्ध बागी उम्मेदवारी नै दिएका थिए ।

भ्रष्टाचारसम्बन्धी मुद्धा अदालतमा विचाराधिन अवस्थामा रहेको भन्दै जोशीको उम्मेदवारी निर्वाचन अयोगले खारेज गरिदिएको थियो । तर पनि जोशीले पौडेलविरुद्धको गतिविधि रोकेनन् । उम्मेदवारी खारेजी भएपछि उनले पौडेललाई हराउन गाउँगाउँमा अभियान नै चलाएको आरोप छ ।

पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीले आफू निकट केही व्यक्तिहरुको साथ लिएर तनहुँमा समानान्तर कार्यसमितिसमेत गठन गरेका छन् । जोशीको यस्ता गतिविधिले आजित भएका तनहुँका कांग्रेसीहरु अहिले जोशीलाई कारबाहीको माग गर्दै केन्द्रमा धाउन थालेका छन् ।

आज कांग्रेस केन्द्रिंय कार्यालय सानेपामा तनहुँबाट करिब एक सय जनाको टोली जोशीलाई कारबाही गर्नुपर्ने माग गर्दे डेलिगेशनमा आएका छन् ।

तनहुँ जिल्ला सभापति वैकुण्ठ न्यौपानेको नेतृत्वमा आएको टोलीले जोशीले समानान्तर समिति संचालन गरेकोबारे सभापति शेरबहादुर देउवासँग धारणा माग्ने र आवश्यकताअनुसार कदम चाल्न आग्रह गरेको तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । जिल्ला सभापति न्यौपानेले पनि जोशीको क्रियाकलाप रोक्न कि जिल्ला कार्यसमितिलार्य अधिकार दिनुपर्ने कि केन्द्रले हस्तक्षेप गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्