Logo

मन्त्रीहरुलाई राहत, तत्काल मन्त्रिमण्डल हेरफेर नहुने



काठमाडौं । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हेरफेर गर्नेबारे सहमति भएको भनेर बाहिर चर्चा चलेपनि बास्तविकतामा त्यो सत्य नभएको पार्टीकै प्रभावशाली नेताहरुले खुलासा गरेका छन् ।

केही दिन अघि पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता भीम रावलले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्रिमण्डल हेरफेर नहुने जिकिर गरेका थिए । उनले गर्नुपरेपनि के कति ? कारणले गर्नुपर्ने हो त्यसबारेमा पार्टीका विभिन्न बैठकमा छलफल हुनुपर्ने स्पष्ट पारेका थिए ।

यता, पार्टीका प्रवत्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डल हेरफेरबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारिदिएका छन् । प्रधानमन्त्री ओलीले समेत मन्त्रिमण्डल हेरफेरको हल्ला सरकार कमजोर बनाउने खेल भएको दाबी गरिसकेका छन् ।

शुक्रबार गृहजिल्ला पुगेका प्रवक्ता श्रेष्ठले भनेका छन्,‘प्रधानमन्त्री ज्यू ले हेरफेर गर्ने केही तयारी गर्नुभएको भए हामीलाई थाहा भएन, हामीलाई भन्नुभएको पनि छैन, यसबारे पार्टीमा कुनै छलफल भएको छैन ।’

श्रेष्ठले पार्टी एकतालाई अन्तिम रुप दिन दुई अध्यक्षले गृहकार्य गरिरहेको बताए । उनले भने,‘राजनितिक प्रतिवेदन प्रकाशित गर्ने र सांगठनिक एकीकरणका बाँकी काम पुरा गर्ने काम दुई अध्यक्षले गरिरहनुभएको छ । उहाँहरुले सक्नुभएन भने सचिवालय बैठकमा ल्याएर छलफल गरी स्थायी समितिको बैठकमा लान्छौ।’



प्रतिक्रिया दिनुहोस्