प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका–१७ बाट एक भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माड्रबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजासहित भारतको मधुबनी बस्ने २८ वर्षीय शत्रुधनकुमार सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहको साथबाट अन्दाजी पाँच किलो ४५० ग्राम लागुऔषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।
उजूरी बढे
गोलबजार नगरपालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धी उजूरी बढी दर्ता भएका छन् । न्यायिक समिति गठन भएयता १३५ उजूरी दर्ता भएकामा जग्गा विवादका सबै भन्दा बढी उजूरी परेका छन् ।
अधिकांश उजूरी जग्गाको सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिकाको न्यायिक समितिमा बढी आउने गरेको नगरपालिकाका कानूनी सल्लाहकार चेतबहादुर थापाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७५/०७६ को हालसम्म दत्र्ता भएका १३५ उजूरीमध्ये ४५ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको र २८ मुद्दामा मिलापत्रको पहल भइरहेको तथा ५० मुद्दा माथिल्लो निकायमा कारवाही प्रक्रियामा जान पठाइएको कानूनी सल्लाहकार थापाले बताउनुभयो ।