काठमाडौं, २१ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटि बैठकको पूर्व सन्ध्यामा बुढानिलकन्ठस्थित निवासमा महायज्ञ लगाए । उपसभापति विजयकुमार गच्छेदार हिन्दुको धार्मिक कार्यक्रममा सहभागी हुन सुटुक्क भारत पुगे । यता काँग्रेस बैठक पूर्व हिन्दु राष्ट्रको एजेन्डा बन्दैछ । यी सबै घटना संयोग नमान्ने हो भने नेपाली काँग्रेसले अब धर्मको एजेन्डालाई बेवास्ता गर्दैन भन्ने बुझ्दा हुन्छ ।
घटनाक्रमले काँग्रेस बेठकभित्र उठ्न थालेको हिन्दु राष्ट्रको मुद्याले यसपटक बलियो प्रवेश पाउने भएको देखाएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रको मुद्या उठाउने बताइसकेका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिबार बोल्दै यसपटक यो मुद्दा निकै महत्वका साथ उठ्ने बताए ।
सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कमिटि बैठक हुनुभन्दा अगाडि महायज्ञ लगाउनुले काँग्रेसकै नेताहरुको कान ठाडो भएको छ । महायज्ञस्थल बुढानिलकण्ठ पुगेका नेताहरुमा हिन्दु राष्ट्र र धर्मको विषयबारे कुराकानी गर्न थालेका छन् । उनीहरुले देउवाले पार्टीको केन्द्रीय समिति बैठक हुनुपूर्व महायज्ञ लगाउनुलाई अर्थपूर्ण भनेका छन् ।
हिन्दु धर्मको विषयमा देउवाले मुख खोलिसकेका छैनन् । तर, उनले पछिल्लो समय धार्मिक गुरुहरुलाई भेटे । उनीहरुकै सल्लाह अनुसार महायज्ञ लगाए । देउवा निवासमा महायज्ञ २५ गते सम्पन्न हुने भएपनि काँग्रेस केन्द्रीय समिति बैठक २२ असारबाट चल्दैछ ।
बैठकमा हिन्दु राष्ट्रको मुद्दा उठाउने र सहमति जनाउनेहरुको सूची समेत तयार भइसकेको छ । हिन्दु राष्ट्रको पक्षमा महामन्त्री डा. शंशांक कोइराला खुलेर लागिसकेका छन् । उनले गणतन्त्रको विषयमा समेत बहस हुनुपर्नेमा जोड दिएका थिए ।
उपसभापति विजयकुमार गच्छेदार धार्मिक कार्यक्रममा भाग लिन भारत पुगेको खुलासा रिपोर्टर्स नेपाल डट कमले गरिसकेको छ । उनले श्री श्री रविशंकरलाई भेटे । त्यहाँ भाजपा नेताहरुसँग पनि भेटेर अमेरिका पुगे । केन्द्रीय कमिटि बैठक बस्नु अघि गच्छेदारको भारत भ्रमण अर्थपूर्ण छ ।
उपसभापति विमलेन्द्र निधि हिन्दु राष्ट्रको विपक्षमा छन् । उनले काँग्रेस निर्णयबाट पछि हट्न नहुने बताउँदै आएका छन् ।
काँग्रेसले धर्मनीरपेक्षमा समर्थन जनाएर गल्ती गरेको भन्ने केन्द्रीय सदस्यहरुको बहुमत रहेको छ । तर, उनीहरु पार्टीले विगतमा लिइसकेको निर्णयमा खुलेर विरोध गर्न सकिरहेका छैनन् ।
काँग्रेसको महाधिवेशनमा अन्यौल भइरहँदा मुद्याबारे पनि अन्यौल छ । यसपटक जसले हिन्दु राष्ट्रको मुद्दा उठाउँछ त्यो बलियो हुनसक्ने आँकलन पनि गरिएको छ । तर, हिन्दु राष्ट्रको एजेन्डा स्थापित गरी कार्यान्वयन गर्न सजिलो भने छैन । देशभित्र र बाहिरको परिस्थितिले भने काँग्रेसका नेताहरुमाथि यो एजेन्डा उठाउन दबाब बढिरहेको छ ।
छिमेकी भारतमा हिन्दुवादी भारतीय जनता पार्टी सानदार बहुमतका साथ विजयी हुनुले काँग्रेसभित्र यो मुद्दा बलियो बनेको हो । भारतको राजनीतिले नेपालमा निकै असर गर्ने गरेको र त्यसमाथि पनि काँग्रेसका राजनीतिमा प्रभाव पर्ने गरेको छ ।