फुटबल प्रतियोगिताहरुमा महिलामाथि विभेदको विषय चर्को रुपमा उठेको छ । महिलाको तुलनामा पुरुष विश्वकपमा पुरस्कारवापत्को रकम आठ गुणाले बढी छ । फुटबल पुरुषको मात्र खेल हो जस्तो छ ।
सन् २०२२ मा हुने कतार विश्वकपमा पुरस्कार रकम ४४ करोड अमेरिकी डलर पुर्याइने घोषणा भइसकेको छ । तर, सन् २०२३ मा हुने विश्वकपमा रकम बढाएर ६ करोड डलर पुर्याइने घोषणा भएको छ ।
फुटबलमा महिला र पुरुषबीच विभेद भएको भन्दै अमेरिकी कप्तान मेगान रेपिनोले आवाज उठाएकी छिन् । उनले फिफाले महिला फुटबललाई बेवास्ता गरेको आरोप लगाइन् । पुरस्कार रकमबारे प्रश्न गरिन् ।
टेनिसमा पनि विगतमा निकै विभेद थियो । युएस ओपन टेनिसमा अहिले आएर पुरस्कार रकम बराबर गरिएको छ । महिला र पुरुषको प्रतिष्पर्धामा बराबर रकम कायम गर्ने युएस ओपन टेनिसको पहिलो प्रतियोगिता हो ।
फुटबलमा पुरुषको खेलहरुमा निकै लगानी गरिएको छ । प्रयोजकहरु पनि उत्साहका साथ आउने गर्छन् । तर, महिला फुटबलमा त्यो उत्साह देखिएको छैन ।
फ्रान्समा जारी विश्वकपको फाइनलमा पुगेको अमेरिकी टोली पुरुषवादी प्रवृत्तिप्रति कडा आलोचक बनेको छ । नेदरल्यान्डविरुद्ध आज फाइनल खेल्दै गर्दा उनीहरुले विभेदविरुद्ध पुनः आवाज उठाए ।