Logo

सरकारले देशभक्ति अडान छोड्नुहुँदैन : रावल



भीम रावल, नेता, नेकपा

सरकारले गरेको कतिपय निर्णय निकै विवादमा परेका छन् । मन्त्रीपरिषदले नै गरेको निर्णयसमेत कार्यान्वयन हुन नसक्ने अवस्था सृजना भएपछि उल्टिएको छ । यसले सरकारको निर्णय क्षमतामाथि प्रश्न उठेको छ । केपी ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सत्तारुढ दल नेकपाका नेता भीम रावलले सरकारलाई सचेत गराउँदै आएका छन् । आफूलाई गलत लागेको कुरा खुलेरै सार्वजनिक गर्दै आएका रावलसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

संसदीय दलको बैठकमा सरकारको आलोचना किन गर्नुभयो ?
संसदीय दलको बैठकमा मैले बोलेकै छैन ।

बैठकपछि बाहिर आएर त विरोध गर्नुभयो नि ?
त्यो सरकारको विरोध हैन । मैले सरकारको विरोध गरेको भन्नेहरु भ्रममा छन् जस्तो लाग्छ । मैले के भनेको हो भने विषादीयुक्त फलफूल र तरकारी आयात गर्ने व्यवस्था छ, यो अन्तराष्ट्रिय श्रम संगठन अन्तरगत प्रत्येक देशले गर्न पाउँछ । जनतालाई विषादीबाट बचाउँनका लागि सरकारले पाइला चाल्नुपर्छ भन्ने कुरा अन्तराष्ट्रिय सम्झौतामा पनि उल्लेख छ । त्यो सम्झौताअनुरुप नेपाल सरकारले पनि कदम चाल्नुपर्छ भन्दा सरकारको विरोध हुन्छ ?

प्रधानमन्त्री केपी ओलीले तयारी नपुगेकाले विषादी परिक्षण तत्काल सुरु गर्न नसकिएको भन्नुभएको छ । प्रधानमन्त्रीले त्यति भनिसकेपछि तपाई किन आलोचना गर्ने ?
सरकारले पछि हट्नु पर्दैन । विगतका अप्ठ्याराबाट मुक्ति पाइन्छ भनेर नेपाली जनताले हामीलाई दुई तिहाई बहुमत दिएका हुन । काम गर्न नसक्ने भए जनताले नेकपालाई किन मत दिनुपर्यो त ? विगतका अस्थिर सरकारले गरेन, कांग्रेसले गरेन, राणाले गरेन भनेर जनताले नेकपालाई मत दिएका हुन् नि । त्यसैले अहिलेको सरकारले देशभक्ति अडान छोड्नुहुँदैन । अन्तराष्ट्रिय कानुनअनुसार सम्बन्ध स्थापित गर्ने जुन अडान छ, त्यसले नेपालको हित गर्छ भनेर जनताले मत दिएका हुन् । देश र जनताको पक्षमा बोल्दा सरकारको विरोध गरेको भनिन्छ भने यो सरकारको औचित्य के ? जनताको मतको औचित्य के ?

प्रधानमन्त्रीले त भारतसँगको सम्बन्ध सुमधुर बनाउनका लागि पनि सोच विचार गर्नुभएको होला नि ? विषादी परीक्षण नगर्ने निर्णयले त नेपाल–भारत सम्बन्ध राम्रो बनाउन वातावरण सृजना भएन र ?
तपाईले त आश्चर्यको कुरा गर्नुभयो । अन्तराष्ट्रिय कानुनअनुसार, विश्व व्यापार संगठनअनुसार प्रत्येक देशले आफ्ना जनतालाई विषादीबाट बचाउनका लागि काम गर्नुपर्छ । त्यो खालको सम्झौता पनि छ । नेपालबाट कुनै विषादीयुक्त वस्तु भारत जाँदा परीक्षण गर्नुपर्ने, भारतका जनतालाई जोगाउनुपर्ने, भारतबाट नेपाल आउने विषादी चाँही परीक्षण गर्न नपर्ने ? नेपाली जनता पनि विषादीबाट जोगिनुपर्छ भन्ने कुरा गर्दा दुई देशको सम्बन्ध विग्रन्छ भने विग्रियोस् । दुई देशबीच सम्बन्ध नै छैन भनिदिए पनि हुन्छ । जनतालाई विषादीबाट बचाउनुपर्छ भन्दा कुनै देश रिसाउँछ भने सम्बन्ध राम्रो भएको ठहर्छ त ?

आवश्यक पूर्वाधार र प्रयोगशाला बनाउनमा ध्यान दिनुपर्दैन ?
तपाई र मैले ध्यान दिने हो कि सरकारले ध्यान दिने हो ?

तपाईको पार्टीको सरकार छ । तर किन यस्ता महत्वपूर्ण काम गर्न सक्दैन ?
म त्यो पार्टीको नेता त हुँ । तर पार्टीभित्र छलफल त हुनुपार्यो नि । नीति बनाउने बेलामा छलफल गरे पो हाम्रो भूमिका हुन्छ त । कुन मन्त्रालयले के निर्णय गर्छ त्यो हामीलाई जानकारी हुँदैन । अनि नेता भन्दैमा हामी कसरी जिम्मेवारी बन्न सक्छौँ ।

नेपालमा गर्ने भनिएको आइफा अवार्डको विरोध किन गर्नुभयो ?
आइफा अवार्डमा अर्को देशको चलचित्र उद्योगमा योगदान दिएबापत त्यहाँको निजी कम्पनीले आफ्ना चलचित्रकर्मीहरुलाई पुरस्कृत गर्ने कुरामा हामी अरबौँ रुपैयाँ खर्च गर्न सक्ने । तर आफ्नो देशको मूलभूत स्वार्थको लागि सिमानामा आवश्यक जाँच गर्ने प्रयोगशाला राख्न नसक्ने ? यस्तो गर्न मिल्छ त ? अर्को कुरा जुनसुकै कार्यक्रम गर्ने निर्णय गर्दा पनि पार्टीभित्र छलफल गर्नुपर्छ, अनि मात्र परिपक्क निर्णय हुन्छ । आइफा अवार्डसम्बन्धी सम्झौता यति गलत छ कि सबैले त्यसको समर्थन गर्ने हो भने देश र सरकार भड्खालोमा जान्छ ।

तपाईले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति बारम्बार आलोचना गर्नुभएको छ । किन ?
मैले आलोचना र विरोध गरेको छैन । मैले प्रधानमन्त्री केपी ओलीको विरोध गरेँ भनेर जसले भनिरहेको छ, उनीहरु भ्रममा छन् । मैले देशभक्ति भावना र नेकपाको विधानअनुसार काम गरौँ भनेको हुँ । मेरो यो कुरालाई कतिपयले बङ्ग्याएर संविधानलाई मिच्ने, र नेकपाको विधानलाई असफल बनाउने षडयन्त्र गरिरहेका छन् । संविधान विपरित काम नगरौँ भन्दा विरोध गरेको ठान्ने हो भने त अब मनपरी गर्न छुट दिए भैहाल्यो नि । यस्तै हो त कम्युनिष्ट पार्टीको सरकारको विशेषता ? मैले जे भनिरहेको छु, त्यसले देश, जनता, सरकार र नेकपालाई फाइदा नै गरेको छ ।



प्रतिक्रिया दिनुहोस्